कला


डेब्यु नाटकमै सुरक्षा, विजया र प्रतीक्षाले गरेको जादु (भिडिओ)

भारत रंग महोत्सवमा जाँदैछ रामायणप्रेरित ‘क्लेशा’

लक्ष्मी बलायर
माघ २६ , काठमाडौँ

मञ्चमा देखिन्छन् एक हुल मान्छे। लहरै उभिएका उनीहरु क्वार्र क्वार्र कराउन थाल्छन्। त्यसैबीचबाट एक व्यक्ति सानो स्वरमा बोल्छन्, 'पर हेर त, को आउँदैछ!'

'कता? ' फरक हाउभाउसहित सबै एकै स्वरमा भन्छन्।

'ऊ त्यहाँ,' अघिकै व्यक्ति बोल्छन्।

अब पालो विजय बरालको। उनी ठूलो स्वरमा भन्छन्, 'कता जादैँछौ माटो बोकेर कमिलाका ताँतीहरु।'

बाँकीले भन्छन्, 'माटो बोकेर कता जाँदैछन् यी कमिलाका ताँतीहरु? बोकेर हिमालको बोझलाई काँधमा कता जाँदैछन् साथीहरु?'

अनि एकै स्वरमा गुञ्जिन्छ :

घोच्लान् पैताला काँडाहरुले
अल्झाउलान् साँघुरो बाटोमा
कहाँ पुगेर बिसाउलान् यो चुरे ढुङ्गा,
कुन मुहार पुज्नेछन् यी यात्रुहरु
यी यात्रुहरु

यो गीतको सुरुवातसँगै नाटक 'क्लेशा' को कथा अगाडि बढ्छ। प्रधानपञ्चको भाइ अनुज र रुद्रकी बहिनी कान्छी प्रेमसम्बन्धमा हुन्छन्। तर, अनुजले आफ्नो स्वार्थ पूरा भएपछि कान्छीसँग छल गर्छ। अनुजले धोका दिएपछि गर्भवती भएकी कान्छीलाई असह्य पीडा हुन्छ। अनुजबाट कुटपिट र सामाजिक बेइज्जती सहन नसकेर कान्छी मानसिक सन्तुलन गुमाउँछिन्।

बहिनीलाई पीडामा देखेर चुप बस्न सक्दैन रुद्र पनि। उनी न्याय माग्दै प्रधानपञ्च (देवदत्त) को घर पुग्छ। तर, न्याय पाउँदैन। त्यसपछि रुद्रमा क्रोध र बदलाको भाव पैदा हुन्छ। र, रुद्रले देवदत्तकी श्रीमती भूमि (सुरक्षा पन्त) लाई अपहरण गरेर लैजान्छ। रुद्र परिवारसहित गाउँ छोडेर तराई झर्छ। श्रीमती अपहरणमा परेपछि देवदत्त र उसको भाइले उद्धारका लागि गरेको प्रयास र रुद्रले गर्ने प्रतिकार नै 'क्लेशा' को मुख्य कथा हो। विजया कार्की निर्देशित नाटक 'क्लेशा' को हाल मण्डला थिएटरसहित देउराली क्लबको हलमा रिहर्सल भइरहेको छ।

प्रतीक्षा कट्टेलले रामायणकै कथालाई नेपाली परिवेशसँग जोडेर यस नाटकको कथा तयार पारेकी हुन्। जुन नाटक २३ औँ भारत रंग महोत्सवमा फेब्रुअरी १७ र १९ मा मञ्चन हुँदै छ।

हुन त यो नाटक सन् २०२२ को लागि छानिएको थियो। तर कोरोना महामारीका कारण महोत्सव हुन सकेन। यसपटक भारत रंग महोत्सवले 'क्लेशा' लाई पुनः आमन्त्रण गरेको हो। यसअघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायत नेपाली रंगकर्मीहरुका नाटक फेस्टिवलमा सहभागी भइसकेका छन्।

पहिलो नाटक नै भारत रंग महोत्सवमा छनोट हुँदा दंग छिन् विजया। 'यसअघि अग्रज रंगकर्मीहरुको नाटक यस फेस्टिवलमा पुगेका थिए। मेरो पहिलो नाटक नै भारतीय फेस्टिवलमा छनोट हुनु ठूलो कुरा हो। रामायणकै पात्रहरुलाई नेपालको सन्दर्भमा जोडेर यो नाटक हामीले चार वर्षअघि देखाएका थियौँ। त्यतिबेला पनि नाटकले राम्रो प्रतिक्रिया पाएको थियो। भारतको महोत्सवमा नाटक देखाउन निकै उत्साहित छु,' उनले भनिन्।

निर्देशक कार्की नाटकको कन्सेप्टका कारण भारतको फेस्टिवलमा छनोट हुन सफल भएको दाबी गर्छिन्।

भन्छिन्, 'नाटकको कन्सेप्ट नै छनोटको मुख्य आधार हो। हामीले जसरी रामायणको कथाबाट आइडिया लिएर नेपाली परिवेशसँग जोडेर तयार पारेका थियौँ, त्यो गजब थियो। फेरि रामायण भन्नेबित्तिकै हिन्दुइजम पनि जोडिन्छ। त्यसले पनि काम गरेको हो किजस्तो लाग्छ। नाटकको म्युजिक पनि बलियो छ।'

अभिनेत्री सुरक्षा पन्तको पनि 'क्लेशा' डेब्यु नाटक हो। पहिलो नाटक नै फेस्टिवलमा छनोट हुँदा निकै खुसी लागिरहेको सुनाउँछिन् उनी।  

'कति वर्षदेखि रंगमञ्चमा काम गर्ने कलाकारको यस फेस्टिवलमा जाने सपना हुन्छ। मचाहिँ पहिलोचोटि नै काम गर्दा त्यहाँ जान पाउनु गर्वको कुरा हो। यो नाटक त्यो बेला नै छनोट भएको थियो। कोभिडले दुई वर्ष फेस्टिभल रोकिँदा मैले त्यहाँ जाने माया मारिसकेको थिएँ। फेरि बोलाउँदा मेरो भाग्यमा जुरेको रैछ,' उनले भनिन्।

नाटक क्लेशा 'रामायण'बाट प्रेरित भएर लेखिएको उनले सुनाइन्। 'यसमा पनि राम, सीता र रावणबीचको कथा छ। सामाजिक तथा आर्थिक विभेद चलिरहेको समयमा कसरी मानिसलाई रिस र ईर्ष्याले असर गर्छ भन्ने आइडियामा लेखिएको हो। मनमा बदलाको भावना लिँदा त्यसले कसरी जीवन तहसनहस हुन्छ भन्ने कुरा यसभित्र छ।'

यस नाटकमा सुरक्षा भूमि अर्थात् सीताको भूमिकामा छिन्। नाटकले भूमिको माध्यमबाट महिलाको स्वतन्त्रताको कथा समेत भनेको उनले बताइन्। भन्छिन्, 'जब भूमिलाई रुद्रले अपहरण गरेर लान्छ, श्रीमानको घरभन्दा त्यहाँ भूमिलाई स्वतन्त्रता महसुस हुन्छ। उसलाई स्वतन्त्रताको लोभ लाग्छ। अर्को ठाउँमा पुगेपछि भूमिको सोच र विचारमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा यस नाटकमा छ।'

विजया र सुरक्षासहित प्रतीक्षाको पनि पहिलो नाटक हो यो। तीनैजना महिला त्यसमाथि डेब्यु नै अन्तर्राष्ट्रिय महोत्सवमा पुग्नुलाई रमाइलो संयोग मान्छिन् उनी।

'क्लेशा हामी तीनै जना महिला पात्रको डेब्यु नाटक हो। पहिलो प्रयास नै भारतको फेस्टिवलमा छनोट हुँदा म्याजिकजस्तो लागिरहेको छ। हामी तिनै जना एकअर्काका लागि भाग्यमानी रहेछौँ। सीमित स्रोतसाधनमा काम गरेर विदेशी भूमिमा पुगेर आफ्नो कथा भन्नु नै ठूलो कुरा हो। यसले अरु अवसरका ढोकाहरु खोल्छ,' उनले भनिन्।

सुरक्षाले पनि फिल्मको कथावस्तुले नै यो नाटक महोत्सवमा छानिएको धारणा व्यक्त गरिन्। 'यसको कथाले नै छनोट भएको जस्तो लागिरहेको छ। यो पौराणिक कथा हो, यसमा धर्म र संस्कृति जोडिएको छ। त्यसहिसाबले मूल्यवान् छ नै। तर, यसलाई कसरी समसामयिक विषयवस्तु परिवेशमा बाधेर ल्याइएको छ। त्यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको विषयवस्तु फराकिलो र महत्त्वपूर्ण छ। त्यसैकारणले यो छनोट भएको होला।'

पछिल्लो समय नाटकले समाजमा बलियो प्रभाव पारिरहेको सुनाउँछिन् उनी। सिनेमाभन्दा नाटकले जीवनलाई नजिकबाट बुझ्न सिकाउने तर्क छ सुरक्षाको।

'पहिले नाटकले लाइमलाइट नपाएको अवस्था थियो। तर, अहिले नाटकले जुन किसिमले दर्शक र समाजमा प्रभाव पारिरहेको छ, त्यो निकै गजब छ। सिनेमाभन्दा पनि नाटक जीवनलाई अझै नजिकबाट बुझ्न सकिने माध्यम पनि हो। मलाई सिनेमाभन्दा नाट बेजोड र अर्गानिक लाग्छ,' पन्तले भनिन्।  

नाटकका अर्का कलाकार सुदीप खतिवडाले भारत रंग महोत्सवमा जान पाउँदा निकै खुसी लागेको बताउँछन्।

'भारतको रंग महोत्सवमा छनोट हुँदा निकै खुसी लागिरहेको छ। त्यहाँ नेपालको नाम बोकेर प्रस्तुत हुने हो। त्यसलाई सफल बनाउनका लागि निकै उत्साहित छौँ। विगत डेढ महिनादेखि हामी अभ्यास गरिरहेका छौँ।'  

सुदीप यस नाटकमा अनुज अर्थात लक्ष्मणको भूमिकामा देखिएका छन्। साथै उनी यस नाटकका सहायक निर्देशक पनि हुन्।

करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सुरक्षा र सुदीपसहित सरिता गिरी, कुशल पाण्डे, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय छ। महोत्सवमा जानुअघि माघ २९ र फागुन १ गते मण्डला थिएटरमा क्लेशाको विशेष शो हुँदैछ।

फोटो/भिडिओ : सरोज बैजु

माघ २६, २०८० शुक्रबार ९:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .