ad ad

राजनीति


संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

नेपालखबर
माघ २३, २०८० मंगलबार १७:३०, काठमाडौँ

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। 

यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई संघीय संसद्को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी नियुक्त गरेका हुन्।

सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्तिको तयारी भएको छ।

संघीय संसद्को नयाँ महासचिवमा पाण्डेको नाम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। 

तर केही प्रक्रिया नमिलेको भन्दै राष्ट्रपतिले झन्डै दुई महिना उनको सिफारिसलाई रोकिदिएका थिए।

तर मंगलबार प्रतिनिधिसभाको सचिव पदबाट पाण्डेयको राजीनामा आएसँगै महासचिवमा नियुक्त गरिएको हो।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले केही कानुनी तथा नीतिगत प्रक्रिया नमिलेका कारण नियुक्तिमा ढिलाइ हुन पुगेको बताए।

'संघीय संसद्‍बाट उहाँको नाम सिफारिस हुँदा केही नीतिगत कुरा मिलेको थिएन। जुन अब मिलेको छ', उनले भने, 'प्रतिनिधिसभाको सचिव पदबाट पनि उहाँको राजीनामा आएको छ। नमिलेका प्रक्रिया पनि मिलेपछि महासचिवमा नियुक्त गरिएको हो।'

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम मंसिर २३ गते सिफारिस भएको थियो।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले घरासयी कारण देखाउँदै त्यसबेला राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए।

उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिवमा सिफारिस भएका थिए। त्यसको दुई दिनपछि पाण्डेयलाई संघीय संसद सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो। 

राष्ट्रपति कार्यालय र संसद् सचिवालयबीच पाण्डेयको नियुक्तिलाई लिएर केही समय टसल देखिएको थियो। तर प्रतिनिधिसभाको सचिव पदमा कांग्रेसबाट नियुक्त गर्ने सहमतिसँगै पाण्डेय महासचिव भएका हुन्।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए।

उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिवका लागि सिफारिस गरेर नियुक्त गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .