राजनीति


नेपाल समाजवादीले भन्यो : द्वन्द्वकालीन मुद्दा ब्युँताएर शान्ति प्रक्रिया भाँड्न खोजियो

नेपाल समाजवादीले भन्यो : द्वन्द्वकालीन मुद्दा ब्युँताएर शान्ति प्रक्रिया भाँड्न खोजियो

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार १७:४८, काठमाडौँ

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले द्वन्द्वकालीन मुद्दा ब्युँताएर शान्ति प्रक्रिया भाँड्न खोजिएको निष्कर्ष निकालेको छ।

काठमाडौंमा बसेको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकबाट विभिन्न निर्णय गर्ने क्रममा समाजवादीले यस्तो निष्कर्ष निकालेको हो। 

शान्ति प्रक्रियाको बाँकी कामका सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगलाई दलहरूबीच सहमतिका आधारमा अघि बढाएर यथाशिघ्र सम्पन्न गर्न पनि समाजवादीले माग गरेको छ।

'द्वन्द्वकालीन मुद्दा उठाएर शान्ति प्रक्रिया भाँड्न खोज्ने शक्तिहरूका प्रतिगामी हर्कतको यो बैठक भत्सर्ना गर्दछ', समाजवादीले भनेको छ, 'पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा हाम्रो पार्टीका केन्द्रीय सदस्य जीतमान पुन 'मार्शल'लाई जनयुद्धकालीन झुट्टा मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा सरकारको भत्सर्ना गर्दै अविलम्त्र रिहाइका लागि माग गर्दछ।'

समाजवादीले संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीलाई उल्ट्याउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै राष्ट्रको समृद्धि, जनआकांक्षा परिपूर्ती र राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको पनि जनाएको छ।

'प्रत्यक्ष कार्यकारीका लागि संविधान संसोधनका निम्ति यो बैठक माग गर्दछ। प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गर्दछ', समाजवादीले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .