ad ad

राजनीति


संसदमा बोल्ने शब्दले सांसदको परिचय दिन्छ, ‘रेकर्डबाट हटाइयोस्’ भन्नु पर्दैन : ओली

संसदमा बोल्ने शब्दले सांसदको परिचय दिन्छ, ‘रेकर्डबाट हटाइयोस्’ भन्नु पर्दैन : ओली

नेपालखबर
माघ २१, २०८० आइतबार १७:४८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराए। आइतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरूको ध्यानाकर्षण गराए।

गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो। अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने बताए।

उनले भने, ‘एउटा हामीहरूको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाईयोस् भन्ने। मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन। त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ। विरोध गर्नुपर्छ त्यसको। तर रेकर्डबाट हटाईयोस् भन्न चाहिँ पर्दैन क्या।’

उनले थपे, ‘रेकर्डबाट हटाइयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने। हामीले गलत बोल्यो, रेकर्डबाट हटाईपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने। अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र?’

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ। ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .