अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपाका नेताहरु विभाजित भएपछि नेकपाको गतहप्ता सम्पन्न केन्द्रीय समिति बैठकबाटै यसबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनेको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित उक्त अध्ययन कार्यदलले पाएको १० दिनमध्ये ८ दिन बितिसकेको छ।
यो अवधिमा दुईपटक बैठक बसेको कार्यदलले त्यससम्बन्धी दस्तावेज र तथ्य-तथ्यांकहरुको अध्ययन गरिरहेको जनाएको छ। यसै विषयमा कार्यदलका संयोजक झलनाथ खनालसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः
एमसीसी सम्झौता अनुमोदनका लागि तपाईहरुले गर्नुभएको अध्ययन कहाँ पुग्यो?
अहिले नै सबै कुरा भन्न मिल्दैन। हामी पुरा अध्ययन सकिएपछि सबै कुरा मिडियालाई जानकारी गराउँछौं। अहिले हामी सान्दर्भिक सामग्रीहरु अध्ययन गरिरहेका छौं। नयाँ नयाँ सामग्री र सूचनाहरु प्राप्त गरेर त्यसको अध्ययन गरिरहेका छौं। अहिले नै विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने अवस्थामा हामी पुगेका छैनौं।
प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै एमसीसी अनुमोदन गरेर जानुपर्छ भनिसकेपछि तपाईंहरुमाथि त सोहिअनुसार गर्न दबाब बढेको होला नि?
हामीलाई त्यसले अप्ठेरो पारिरहेको छ। हामी यसबारेमा बैठकमा कुरा उठाउँछौं। आज बोलाएको सचिवालय स्थगित भएर भोलि बस्ने कुरा छ। बैठकमा हामी यसबारेमा कुरा उठाउँछौं।
अनि तपाईहरुले पाउनुभएको समय सकिन लाग्यो नी?
त्यो त समय थप गर्नुपर्छ। हामी त्यसबारेमा पनि कुरा गछौं।
एमसीसी अनुमोदन छिटो गराउन अमेरिकी अधिकारीले शीर्ष नेताहरुसँग दैनिकजसो भेट गरिरहेका छन्, यसले तपाईहरुको अध्ययनलाई पनि प्रभावित पारेको छ कि छैन?
यसले केही फरक पार्दैन। हामीले सामग्रीको अध्ययन गर्ने हो। म पनि भेट्छु। मलाई भेट्दैछन् उनीहरुले। भेटेर केही फरक पर्दैन। हामीसँग जे आएको छ त्यही बताइदिने त हो।
तपाईहरुकै केहि नेताहरुको अहिले बोली अलि फेरिएको छ, यसबारेमा कार्यदलमा एकमत होला त?
यसबारेमा पछि कुरा गरौंला। म्याद थपको विषयमा निर्णय गर्न भोलि हामी बैठक बस्दैछौं। त्यसले निर्णय गर्छ। अहिलेसम्म हामीले दुईवटा बैठक गरेका छौं। अध्ययनकै क्रममा भएकाले बैठक बस्नुभन्दा पनि सबैजना अध्ययन मैं छौं। केही थप समय त चाहिन्छ, तर कति समय भन्ने अझै एकिन गरिएको छैन।
Shares

प्रतिक्रिया