ad ad

राजनीति


‘भारतीय कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थल जिम्मा दिनु देशमाथिको घात’

‘भारतीय कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थल जिम्मा दिनु देशमाथिको घात’

नेपालखबर
माघ १७, २०८० बुधबार १८:९, काठमाडौँ

नागरिक अभियन्ताहरुले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।

बुधवार काठमाडौंमा भएको नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरु विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रका विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरुले यस्तो बताएका हुन्।

उनीहरुले आर्थिक सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थ माथिको ठूलो आघात भएको बताए।

उनीहरुले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानि ग्रुपलाई दिने तयारी भएको भए घातक विषय भएको बताए।

नागरिक अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरु भारतीय कम्पनीलाई सञ्चालन गर्न दिनेकुरा आर्थिक, प्राविधि र राष्ट्रको दीर्घकालिन हिसावले उपयुक्त नभएको बताए। उनले भूपरिवेष्ठित मुलुकहरुले वाह्य विश्वसँग सम्पर्क गर्ने माध्यम हवाई र रेल्वे यातायात भएको बताए।

पौडेलले नेपालले हवाई उडानलाई विदेशी मुलुकसँग बहुपक्षीय सम्बन्ध बिस्तारको लागि प्रयोग गरिरहेको बताए। आर्थिक, सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको देशलाई ठूलो आघात हुनु रहेको धारणा राखे। उनले नेपालको वाह्य मुलुकसँग जोडिने माध्यम भनेको हवाई यातायात भएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलहरु राज्यको अग्रसरतामा सञ्चालन गराउनुपर्ने बताए।

कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपध्यायले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएकाले यसको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने रहेको बताए।

उनले वर्तमान सरकार भारतसँग कम्फरटेबल रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईले सबैकुरा बुझ्न सहज हुने बताए। उनले सरकारले दिन चाहेको भए जनतालाई भ्रममा राख्न नहुने भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।

उनले यदी सरकारले भारतीय कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने तयारी गरेको भए देशको लागि घात हुने बताए। भारतीय कम्पनीलाई विमानस्थल सञ्चालन गर्न दिँदा मुलुकको सुरक्षामा खतरा आउने उनको भनाई छ।

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाल घेरेको मुलुकको कम्पनीलाईअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिन नहुने बताए। उनले मुलुक गरिव र विमानस्थल सञ्चालनको विज्ञतामा कमी भएपनि भारतीय कम्पनीलाई दिन नहुने भन्दै नेपाल सरकारले नै सञ्चालन गर्नुपर्ने जिकिर गरे। उनले अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सुरक्षासँग जोडिएको राजनीतिक विषय पनि भएको दाबी गरे।

उनले अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालन गर्न दिने विषय मुलुकको सुरक्षा,राजनीति र भूराजनीतिबाट अलग गरेर हेर्न नसकिने बताए। उनले वर्तमान सरकार बनेदेखि विवादास्पद बन्दै गएको बताए। उनले सरकारलाई मुलुकलाई आघात हुने खालका कामहरु गर्न छुट नभएको भन्दै सबैले खबदारी गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .