ad ad

राजनीति


गोर्खा सैनिकप्रति उदारता देखाउन बेलायती सेनाध्यक्षसँग रक्षामन्त्री खड्काको आग्रह

गोर्खा सैनिकप्रति उदारता देखाउन बेलायती सेनाध्यक्षसँग रक्षामन्त्री खड्काको आग्रह

नेपालखबर
माघ १६, २०८० मंगलबार १७:५९, काठमाडौँ

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गोर्खा सैनिकलाई समान पेन्सन र सुविधाका लागि आग्रह  गरेका छन्।

नेपाल भ्रमणमा रहेका बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्ससँग उनले  समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरेका हुन्।

बेलायती सेनाध्यक्ष स्यान्डर्स उपप्रधान तथा रक्षामन्त्री खड्कासँग शिष्टाचार भेटका लागि मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालय पुगेका थिए।

भेटमा खड्काले ब्रिटिस सेनामा सेवारत गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिस गोर्खा सैनिकको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरेको उनको सचिवालयले जनाएको छ।

यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले ब्रिटिस सरकारका तर्फबाट थप उदारता देखाउन अनुरोध पनि खड्काले गरेका थिए।

सो अवसरमा बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री खड्काले गोर्खा सैनिकबारे उठाएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए। 

उपप्रधानमन्त्री खड्काले सन् २०२३ अक्टोबरमा क्याम्ब्रियन गस्तीमा १० नेपाली सेनाले भाग लिएको स्मरण गर्दै नेपाली सेनाका लागि ‘एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल’ होल्डिङ युनिट स्थापना गर्न ब्रिटिस सरकारको तर्फबाट भएको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख पनि गरेका थिए। 

गत वर्ष नेपाल र बेलायतको मैत्री सन्धिको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .