ad ad

समाज


स्लाइनको क्यानोलासहित अस्पतालबाट बिरामी एम्बुलेन्समै झाँक्रीकहाँ पुगेपछि...

स्लाइनको क्यानोलासहित अस्पतालबाट बिरामी एम्बुलेन्समै झाँक्रीकहाँ पुगेपछि...

बिरामी नरबहादुर गुरुङ स्वास्थ्यकर्मीसहित प्रकाश भुजेलकहाँ पुगेका थिए


नेपालखबर
माघ १६, २०८० मंगलबार १८:२३, काठमाडौँ

ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत एकजना बिरामी हातमा लगाइएको स्लाइनपानीको क्यानोलासहित एम्बुलेन्समा चढेर धामीकहाँ पुगेका छन्।

२३ दिनदेखि बीएन्डबीमा उपचाररत एकजना बिरामीलाई अस्पतालबाट एकजना हेल्थ असिस्टेन्टसहित आफूलाई धामीझाँक्री बताउने प्रकाश भुजेलकहाँ पुगेका हुन्। 

गत पुस २१ गते उपचारका लागि भर्ना भएका बिरामी नरबहादुर गुरुङ यही आइतबार बीएन्डबी अस्पतालबाट निस्किएर भुजेलकहाँ पुगेका थिए। 

भुजेलको जोरपाटीस्थित निवासमा एकजना हेल्थ असिस्टेन्टसहित बिरामी गुरुङ स्लाइन पानीको क्यानोला नखोली एम्बुलेन्समा चढेर पुगेका  थिए।

त्यहाँ पुगेपछि अस्पतालले २३ दिनमा निको बनाउन नसकेको गुरुङको ढाडको समस्या आफूले केही बेरमै निको पारेको भन्दै भुजेलले भिडिओ पनि बनाएका छन्। 

बीएन्डबीबाट आएका गुरुङसँग अन्तर्वार्ता नै लिन भ्याएका छन् भुजेलले। स्वास्थ्यकर्मीकै पोशाकमा देखिएका ती व्यक्तिलाई भुजेलले अस्पतालमा एन्टिबायोटिकले निको नबनाएको बिरामीलाई आफूले फुकेर निको बनाएको बताउँदैछन्।

त्यहीबेला स्वास्थ्यकर्मीको पोशाकमा देखिएका व्यक्ति मुस्कुराउँछन्। उता भुजेलले डाक्टरसहितको बिरामी हातमा लगाइएको क्यानोलासहित आएको भन्दै गुरुङलाई भाग्यमानी भन्न भ्याएका छन्।

आफ्नो अस्पतालमा उपचाररत बिरामी स्वास्थ्यकर्मीसहित धामीकहाँ पुगेको भिडिओ भाइरल भएपछि बीएन्डबीले विज्ञप्ति निकालेर मंगलबार स्पष्टीकरण नै दिएको छ।

अस्पताल प्रशासनले उपचाररत गुरुङले आइतबार डिस्चार्ज नभइ अन्यत्र जानुपर्ने बताएको जनाएको छ। अस्पतालबाट डिस्चार्ज नगरेको अवस्थामा गुरुङलाई त्यहीँको एम्बुलेन्समा राखेर एकजना हेल्थ असिस्टेन्ट पनि दिएर बाहिर पठाइएको बीएन्डबीले उल्लेख गरेको छ।

‘तर गुरु प्रकाश भुजेलकहाँ उपचारका लागि जानु भएको कुरा फेसबुकमा अपलोड भएको भिडिओमार्फत मात्रै थाहा भयो’, अस्पताल प्रशासनले मंगलबार भनेको छ, ‘यहाँ भर्ना भएका बिरामीलाई उपचार गर्न नसकी डाक्टरसहित एम्बुलेन्समा पठाइएको भन्ने कुराप्रति अस्पताल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ।’

बीएन्डबीले ती बिरामीको समस्याको उपचारका क्रममा पहिचान भइसकेको पनि जनाएको छ। ‘ती बिरामीको समस्याको यस अस्पतालमा निदान नभएको गलत हो’, बीएन्डबीले भनेको छ, ‘उहाँको मेरुदण्डमा संक्रमण भएको छ।जाँचमा के किटाणुले गर्दा संक्रमण भएको भन्ने पनि पक्का भइसकेको छ।’

बीएन्डबीले उक्त समस्याको निदानका लागि औषधोपचार समेत भइरहेको जनाएको छ।

‘उल्लेखित बिरामी नरबहादुर गुरुङको उपचार हुन नसकी यस अस्पतालबाट एम्बुलेन्समा पठाइएको भन्ने समाचार असत्य हो’, विज्ञप्तिमाा भनिएको छ, ‘उक्त कुरा अस्पताल प्रशासनको जानकारीमा छैन। त्यसैले अस्पताले बिरामीलाई धामीकहाँ पठाएको कुरा असत्य हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .