ad ad

राजनीति


कोसी काण्डपछि पुनको प्रतिक्रिया : कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं

‘राष्ट्रिय राजनीतिमा नयाँ मोड आयो’
कोसी काण्डपछि पुनको प्रतिक्रिया : कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं

नेपालखबर
माघ १३, २०८० शनिबार १०:९, रोल्पा

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरूले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्। 

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे।

हरेकपटकका निर्वाचनमा आफूहरूले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर, उसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनले बताए।

‘कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं’, पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि काँग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’

यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए। पुनले दुई वर्षअघि पनि कोसीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई का‌ंग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे। यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोसीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए।

‘दुई वर्षअघि पनि जसपाको राष्ट्रियसभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोसीमै भयो। केदार कार्कीलाई  मुख्यमन्त्री बनाउँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले भने, ‘कांग्रेसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन।

पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न काँग्रेस नेतृत्वसँग माग पनि गरे। यस्तै कांग्रसबाट कोसीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए। 

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले का‌ंग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .