ad ad

राजनीति


असंलग्न आन्दोलनको सम्मेलनमा विकासोन्मुख मुलुकको हितमा आवाज उठाएँ : प्रधानमन्त्री

असंलग्न आन्दोलनको सम्मेलनमा विकासोन्मुख मुलुकको हितमा आवाज उठाएँ : प्रधानमन्त्री

नेपालखबर
माघ ७, २०८० आइतबार ९:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो युगान्डा भ्रमण सफल भएको बताएका छन्। 

चारदिन लामो गुगान्डा भ्रमण पूरा गरी आइतबार बिहान त्रिभुवन विमान स्थलमा अवतरण भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताएका हुन्। 

प्रधानम्त्री प्रचण्ड असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार युगान्डा गएका थिए। 

‘हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ। नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ,’ भित्रुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरुको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनु पर्दछ भन्ने बिषय जोडदार रूपमा उठाएको छु।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डद्वारा जारी प्रेस नोट

१‍‌ असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगरी म आज स्वदेश फर्किएको छु। मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री माननीय श्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव श्री सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि श्री लोक बहादुर थापा लगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो। म यही २०80 माघ 04 गते काठमाडौंबाट युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलार्इ विदितै छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नु भएकै छ।

२ म युगाण्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगाण्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो।विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगाण्डामा नेपाल र नेपाली सम्मानित भएको महसूस गरें।

३ कम्पालामा रहँदा म मिति २०80 माघ 05 गते असंलग्न आन्दोलनको १9औं शिखर सम्मेलनको उद्‍घाटन समारोहमा सहभागी भएँ। उद्‍घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्षले सम्बोधन गर्नु भएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरें। मेरो सम्वोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।

४ यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Deepening Cooperation for Shared Global Affluence” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा सम्पन्न एशिया-अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्दान्तिक र दार्शनिक आधारशीला हुन्।नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्र मध्ये एक हौं। स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरीआएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रहीआएका छन्। यसैका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौं।

५. मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुइ महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, ‍औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालार्इ जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ। 

६. नेपालले  सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दछ। असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा  मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें। यस आन्दोलनले हामीहरूबीच आपसी सद्भभाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ।

७. कोभिड महामारी पश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन सकेको छैन। सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड-१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण,  विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नु परेको तथा हाल बढिरहेको भू-राजनीतिक ध्रुवीकरण तथा लडाँइ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा चिन्ता व्यक्त गरें।

८.  हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ।नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ। अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता  र अन्य अन्तर्राष्ट्रिय रुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरुको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनु पर्दछ भन्ने बिषय जोडदार रूपमा उठाएको छु।

९. त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनाला विकासोन्मुख मुलुकहरुको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसँघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ।

१०. विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तिय प्रतिवद्वता पूरा गर्नै पर्दछ। अन्तर्राष्ट्रिय व्यापारमा सवैको पहूँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरुले समेत महसुस गर्न पाउनु पर्दछ।यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधिमुलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु। 

११. यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन। समृद्धि केही मलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन। प्रत्येक व्यक्ति तथा मुलुकले समानरूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनै पर्दछ भन्ने कुरालार्इ पनि मेरो संवोधनमा उल्लेख गरेको छु।

१२.  शान्तिका दूत गौतम बुद्वले मार्गदर्शन गर्नुभए झैं नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्वान्तमा अटल विश्वास गर्दछ। त्यसैगरी विविधतामा एकता, वसुधैव कुटुम्वकम (The world is one Family) हाम्रा दैनिक जीवन पद्वतिका रुपमा रही आएका छन्। यी मान्यताहरु हाम्रो सामाजिक-सांस्कृतिक मूल्य मान्यताका रुपमा परापूर्वकाल देखि रही आएका छन्।

१३.  हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो। विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ। पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको बिषयलार्इ यस अवसरमा दोहोर्याउँदै हिमालको आवाजलार्इ समर्थन गर्न समेत आव्हान गरेँ। 

१४. असंलग्न राष्ट्रहरूको १९ औं शिखर सम्मेलनले अन्तिम दस्तावेज (Final Document),  कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको छ।कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, बहुपक्षीयताको प्रबर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्‌भाव, ऐक्यबद्धता, दीगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएको छ।

द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुर्इ ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशंका उत्पन्न भएता पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन सक्तैन। 

विश्व व्यवस्थालार्इ न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूती गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरीमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व हिजो जति थियो आजपनि त्यत्तिकै रहेको छ। 

१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी  विश्व व्यवस्थालार्इ न्यायोचित,  समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनु भयो।सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।

१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नु भएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।

यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तर्क्रियाको मौका मिल्यो। नेपालीहरूको लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतिका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।

१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलार्इ कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलंकाले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।

त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भयो।नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएँ। सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलाई कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने बिषयमा कुराकानी भयो।

अन्त्यमा, संयुक्त राष्ट्र संघपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र ऐक्यवद्धताको वैकल्पिक मञ्‍चको रूपमा रही आएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपती H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार संप्रेषण गर्नुहुने सबै संचारकर्मी मित्रहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .