राजनीति


एउटै कर्मचारीलाई दुईपटक उत्कृष्ट पुरस्कार, प्रदेश २ मा असन्तुष्टि

एउटै कर्मचारीलाई दुईपटक उत्कृष्ट पुरस्कार, प्रदेश २ मा असन्तुष्टि

शैलेन्द्र महताे
माघ २३, २०७६ बिहिबार १२:५०,

 प्रदेशसभा सचिवालयका एक सचिवलाई नै दुईपटक वार्षिकोत्सवमा पुरस्कृत गरेपछि कर्मचारीहरु असन्तुष्ट बनेका छन्।

प्रदेशसभा स्थापनाको २ वर्ष पूरा भएको अवसरमा गएको मंगलबार प्रदेशसभा सचिवालयका प्रमुख सचिव रञ्जित यादवलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको थियो। उनलाई ५१ हजार रुपैयाँ र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।

यसअघि पनि पहिलो वार्षिकोत्सवमा सचिव यादवलाई नै उत्कृष्ट कर्मचारी घोषित गर्दै ५१ हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको थियो। पटक पटक एकैजना सचिवलाई पुरस्कृत गरी अन्य कर्मचारीको कामको अवमूल्यन गरेको भन्दै सचिवालयका कर्मचारीहरु निराश भएका छन्।

प्रदेशसभा स्थापना भएको बेलादेखि नै सचिव यादव सभामुख सरोजकुमार यादवका अत्यन्तै निकट भएकाले उनैलाई दोश्रो पटक पनि उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको कर्मचारीहरुको भनाई छ। एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘अन्य कुनै कर्मचारीको यहाँ कामको मूल्यांकन छैन। सभामुखको निकट र हर्ताकर्ता हुनुपर्छ। सचिवको हैसियतले धेरै जिम्मेवारी र कार्यभार हुनु स्वभाविक हो। यसको मतलब के सधैँ उनैलाई पुरस्कृत गरि बस्ने?’

सचिव यादवले आफ्नै रिक्वेस्ट र आफ्नै निर्णयमा पुरस्कार लिएको अर्का कर्मचारीले भने ‘उत्कृष्ट कर्मचारीको दोश्रो पटक पनि पुरस्कार लिनु आफैँ बोक्सी आफैँ झाँक्री जस्तै हो।’

पुरस्कृत सचिव यादवले प्रदेसभाका विभिन्न दलका सचेतकहरुको छनोटमा आफू उत्कृष्ट भएको र त्यसै अनुसार पुरस्कार ग्रहण गरेको बताए। वार्षिकोत्सव मूल समारोह समितिका संयोजक एवं राजपा नेपालका सचेतक प्रमेश्वर साहले आफूहरुले निर्माण गरेको मापदण्डमा सचिव यादव नै उत्कृष्ट भएकाले उनैलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरेको बताए।

गएको वर्षमा पनि र यसवर्षमा पनि एउटै कर्मचारी उत्कृष्ट भए, उनी रहुञ्जेल अन्य कर्मचारी उत्कृष्ट नहुने भए भन्ने प्रश्नमा सचेतक साहले भने ‘अरु कर्मचरी पर्न सक्थ्यो। तर हामीले बनाएको मापदण्डमा सचिव यादव नै परे।’

प्रदेशसभा स्थापनाको बेला सचिव यादव उपसचिव भएर आएका थिए। सभामुखको निकट भएकाले उपसचिव यादवलाई सभामुखकै आग्रहमा प्रदेसशभाको प्रमुख सचिवको कार्यभार प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad