ad ad

राजनीति


राजेन्द्र र रवीन्द्रले भैरहवा पुगेर भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

पूर्वराजाले भने : सबैलाई एकताको सूत्रमा बाँध्ने काम मेरो हो
राजेन्द्र र रवीन्द्रले भैरहवा पुगेर भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

तस्बिर : रविन्द्र मिश्रको एक्स एकाउन्टबाट


नेपालखबर
पुस १८, २०८० बुधबार १६:१२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवा पुगेर भेटेका छन्।

उक्त भेटपछिको तस्बिर राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले बुधबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन्। 

भेटका लागि लिङ्देन र मिश्रसहित राप्रपा महामन्त्री धवलशमशेर जबरा, सांसद दीपक सिंह सहभागी थिए।

उक्त भेटका क्रममा पूर्वराजा शाहले आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्दै आएको बताएको जानकारी दिएका छन्। 

वरिष्ठ उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजा शाहले उक्त भेटका क्रममा आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने भएको सन्देश पनि दिएका छन्।

‘हामी सबैले धेरै देख्यौँ-बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु’, उनले भने, ‘मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरा लागि बराबर छन्।’ 

पूर्वराजा शाह गत पुस ८ गते दुई साताका लागि भैरहवा पुगेका हुन्। त्यहाँ उनी अनौपचारिक भेटघाटमा व्यस्त छन्। उनले त्यहाँ विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्लाएक्लै भेटेका छन्। त्यहीक्रममा राप्रपा नेतृत्वसँग पनि उनले संवाद गरेका हुन्।

गत शनिबार उनले शिवराज नगरपालिका-३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका थिए। नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको शालिक शिवराज नगरपालिकाले निर्माण गरेको छ।

यही बिहीबार भैरहवामा पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रम छ। नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी भएको हो। 

पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयेन्द्रसहित भैरहवामा छन्। उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .