राजनीति


रुसी सेनामा भर्ना भएका सय नेपाली घाइते र हराएको खबर छ : परराष्ट्रमन्त्री साउद

‘आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुने विश्वास छ।’
रुसी सेनामा भर्ना भएका सय नेपाली घाइते र हराएको खबर छ : परराष्ट्रमन्त्री साउद

नेपालखबर
पुस १०, २०८० मंगलबार १४:४५, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा सयजना नेपाली घाइते र हराइरहेका उजुरी आएको बताएका छन्।

रासससँग कुरा गर्दै मन्त्री साउदले करिब दुई सयजना नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरेका छन्। ती मध्ये सय जनाजति हराएको र घाइते भएको उनले बताएका हुन्।

‘रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ’ उनले भने, ‘यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन्’

हराएका र घाइते भएका नेपालीबारे उनीहरुका परिवार र साथीभाइले खबर गरेका मन्त्री साउदले बताए।

‘रुसी सेनामा नेपाली युवा भर्ना भएका र हाल केहीको मृत्यु भएको तथा केही युक्रेनमा बन्दी बनाइएको भन्ने कुरा आएको छ, यसमा सरकारले उद्धारका लागि के पहल गरिरहेको छ’ भन्ने प्रश्नमा उनले नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पुर्‍याउनका लागि स्पष्ट सन्देश दिएको बताए।

उनले भने, ‘मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ। यसमा हामी प्रयत्न गरिरहेका छौँ।’

रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् वा नजाऊन् भनेर ‘नो अब्जेक्सन  सर्टिफिकेट’(एनओसी)को प्रबन्ध गरेको उनले बताए। दक्षिण एसियाका भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए।

यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा निगरानी बढाएको उनको भनाइ छ।

यससँगै युक्रेनमा बन्दी बनाइकाका हकमा आफूहरू युक्रेन सरकारको सम्पर्कमा रहेको र युक्रेन हेर्ने नेपाली राजदूतले उद्धारका लागि संवाद गरिरहेको उनले बताए।

अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्धबन्दी बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरिएको र यसको परिणाम चाँडै आउला भन्ने विश्वास लिएको मन्त्री साउनको बनाइ छ।

परराष्ट्रमन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरेका छन्।

इजरायलमा हमासद्वारा असोज १० गते भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ।

‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु’ मन्त्री साउदले भने, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .