राजनीति


प्रचण्ड र मेरो सम्बन्ध केटाकेटीको प्रेमजस्तो होइनः ओली

प्रचण्ड र मेरो सम्बन्ध केटाकेटीको प्रेमजस्तो होइनः ओली

नेपालखबर
माघ २१, २०७६ मंगलबार १६:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ‘दुईतिहाई बहुमतको’ सरकारको प्रधानमन्त्री र ठूलो दलको अध्यक्ष समेत भए पनि काम गर्दा पूर्णतः स्वतन्त्र नभएको बताएका छन्।

कुनै काम गर्नुअघि प्रतिपक्ष, संविधानसँग असहमत पक्ष र विभिन्न उद्देश्य राखेका शक्ति केन्द्रहरुलाई समेत सोचेर निर्णय गर्नुपर्ने बाध्यतामा आफू रहेको प्रधानमन्त्रीको भनाई छ।

पार्टी एकीकरण भए पनि सम्बन्ध अझै बलियो भइनसकेका कारण त्यो पक्षसमेत ख्याल गरेर काम गर्नुपर्ने प्रधानमन्त्रीले बताए।

‘प्रेस स्वतन्त्रतामा कुनै संकुचन हुनेछैन’
सरकारले कुनैपनि ढंगबाट प्रेस स्वतन्त्रता हनन नगर्ने प्रतिबद्धता जनाउँदै त्यसमा ढुक्क हुन उनले मंगलबार बालुवाटारमा सम्पादकहरूसँग आग्रह गरे।

‘म सरकारका तर्फबाट आश्वस्त पार्न चाहन्छु कि अभिव्यक्ति, मुभमेन्ट वा अन्य कुनैपनि प्रकारको स्वतन्त्रतामा बन्देज हुनेछैन। कुनै प्रकारको आशंका, चिन्ता लिनुपर्दैन’, प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग भने, ‘त्रुटीपूर्ण केही प्रावधान भए सच्याउन सकिन्छ।’

उनले अवान्छित गतिबिधि रोक्ने उद्देश्यका साथ केही प्रतिबन्धात्मक प्रावधानहरु राख्नुपरेको तर त्यसको अर्थ प्रेस स्वतन्त्रतालाई सीमित गर्न खोजिएको रुपमा नबुझ्न आग्रह गरे।

कसैले स्वतन्त्रताको अधिकार भनी गरेका गतिबिधिले अरु कसैको व्यक्तिगत जीवन वा व्यवसाय समस्यामा पर्न नहुने भन्दै ओलीले त्यसका लागि मात्र त्यस्ता प्रावधान राखिएको बताए।

सञ्चारकर्मीप्रति सरकार असहिष्णु हुँदै नभएको दाबी गर्दै उनले पत्रकारले पनि सहिष्णुता देखाउनुपर्ने तर्क गरे।

‘तपाईंले जे पनि छाप्न हुने, मिडियालाई केही भन्नै नहुने? अलिअलि त हामीले पनि भन्न पाउनुपर्‍यो नि, हाम्रो हकको पनि संरक्षण गर्नुस् न’, प्रधानमन्त्रीले सम्पादकहरुसँग भने।

एकातर्फबाट आलोचना भइरहेपछि अर्कोतर्फबाट त्यसको जवाफ आउँदा स्वभाविकरुपमा लिनुपर्ने उनको तर्क थियो।

‘उता (प्रेस) बाट बलिङ भएको भयै गरेपछि कहिलेकाहीँ त यता (सरकार) बाट ब्याटिङ पनि त गर्नुपर्‍यो नि,’ प्रधानमन्त्रीले भने।

आफू प्रधानमन्त्री हुँदा नयाँ संविधानअनुसार संघीयतालगायत विषयमा थुप्रै कानुन बनाउनुपर्ने अवस्था रहेका कारण हतारमा ती कानुन निर्माण गर्दा सबै पक्षसँग पर्याप्त छलफल, परामर्श गरी धैर्यताका साथ काम गर्न नपाएको प्रधानमन्त्रीले जिकिर गरे।

बालुवाटार जग्गा प्रकरण, गोकर्णको लिज, नेपाल वायुसेवा निगमको जहाज खरिद प्रकरण लगायतका निर्णय आफूभन्दा पहिलेको सरकारले गरेको दाबी गर्दै आफूलाई त्यसमा जोडेर अन्याय गरेको उनको भनाई छ।

‘पुलिस, प्रशासन सबैलाई दबाबमा काम नगर्न निर्देशन दिइएको छ। ठूला ओहोदाका लागि पनि कारवाही भएको छ’, उनले भने, ‘संलग्न पाइए, कसैलाई छोडिँदैन।’

प्रचण्डसँगको सम्बन्ध
केही साताअघि भैंसेपाटीस्थित नेकपा नेता वामदेव गौतमको निवासमा ओलीबाहेक सो पार्टीका बहुमत सचिवालय सदस्यहरु जमघट हुनु सामान्य भएको ओलीले दाबी गरे।

रिक्त सभामुख पदमा पूर्वएमाले वा पूर्वमाओवादी पक्षका नेतालाई प्रस्ताव गर्नेबारे निकै रस्साकस्सी भइरहेका बेला सो जमघटले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका अग्नि सापकोटालाई सभामुख बन्न बल पुगेको बताइएको थियो।

त्यस्ता भेला, छलफल सबैतिर हुनसक्ने बताउँदै त्यसलाई बढाइचढाई गर्नु आवश्यक नरहेको ओलीको तर्क छ।

अर्का अध्यक्ष प्रचण्डसँगको सम्बन्धबारे ओलीले भने, ‘हाम्रो सम्बन्ध भर्खरै प्रेममा परेका केटाकेटीको जस्तो कच्चा होइन, अर्को एकजनासँग कतै छुट्टै भेट्नासाथ शंका गरेर ठुस्किने।’

चुनावअघिदेखि नै गठबन्धन बनाएर पछि पार्टी एकता समेत गरिएको र त्यो सम्बन्ध थप बलियो हुँदै जाने उनले विश्वास व्यक्त गरे।

‘सरकारमा आलोपालो गरौंला भनेको हो’
ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग पहिले सरकारमा आलोपालो नेतृत्व गर्ने समझदारी भएको तर पछि प्रचण्डले नै अहिलेकै निरन्तरता दिन सुझाव दिएको दाबी गरे।

‘पहिले मैले आलोपालो गरौंला नि भनेको थिएँ। अस्ति उहाँकै प्रस्तावमा त्यसो नगरौं, सरकारमा पुरै अवधि निरन्तरता दिउँ भन्ने निर्णय भयो,’ ओलीले भने।

तर, पार्टीभित्र वरिष्ठ नेताहरु धेरै भएका कारण सबै पक्ष विचार गरेर आफू अघि बढ्नुपर्ने बाध्यतामा रहेको उनको भनाई छ।

‘मभन्दा पहिले नै प्रधानमन्त्री, पार्टी प्रमुख भएका नेता छन्। मैले यसोयसो गर भनेर त गर्दैनन् नी। मैले सबै कुरा विचार गरेर, सबैको मानभाऊ पुर्याएर काम गर्नुपर्छ’, प्रधानमन्त्रीले थप खुलाए।

पूर्वमाओवादीसँग आत्मीय सम्बन्ध बन्न समय लाग्नु स्वभाविक भएको बताउँदै उनले भने, ‘एमाले कहाँ थियो, माओवादी कहाँ थियो, तपाईंहरुलाई थाह छ। हामी एकअर्काविरुद्ध प्रहार गथ्र्यौं। मैले त तोप र गोलाका गोला नै ठोक्थें’, उनले भने।

तर, दुई पार्टीबीचको एकता ‘बाइचान्स’ नभएको र निकै सचेतता साथ गरिएको हुँदा यो नभत्किने उनले विश्वास व्यक्त गरे।

विप्लवका गतिबिधि पैसा लुट्न मात्र, राजनीतिक होइन
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले अहिले गरिरहेका गतिबिधि नितान्त पैसा संकलनका लागि मात्र भएको बताए।

‘यो कुनै राजनीति, क्रान्ति होइन। अर्थ संकलनका लागि मात्र हो। पैसा संकलन गर्ने यो विधी स्वीकार्य छैन,’ प्रधानमन्त्रीले चेतावनीको शैलीमा थपे।

याे पनि: 

छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछुः प्रधानमन्त्री ओली 
सम्पादकहरुसँग प्रधानमन्त्रीले भने: एमसीसी यही अधिवेशनबाट पारित हुन्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad