नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताएका छन्।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सहयोग नगरेको गुनासो गरे।
प्रवक्ता सापकोटाले भने, ‘जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ।’
भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए।
नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए।
जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको उनले टिप्पणी गरे।
सापकोटाले भने, ‘संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसद्भन्दा माथि कोही हुँदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अलमलिएको छ, विधेयकहरु पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ।’
Shares

प्रतिक्रिया