ad ad

राजनीति


स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. केसीको माग

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. केसीको माग

नेपालखबर
मंसिर १०, २०८० आइतबार १३:४६, काठमाडौँ

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्। 

मन्त्री बस्नेतले आफूलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाएको भोलिपल्ट आइतबार विज्ञप्ति निकालेर डा. केसीले उनलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन्। मन्त्री बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाएका थिए। 

मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै डा. केसीले उनी पदमा बसिरहनु लोकतान्त्रिक मूल्य/मान्यताको बर्खिलाप भएको दाबी गरेका छन्। 

‘मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले विज्ञप्तिमा लेखेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य/मान्यताको बर्खिलाप हो।  निजलाई तत्काल पदमुक्त गरियोस्।’

यस्तै डा. केसीले मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरिरहेको आरोप पनि लगाएका छन्। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘स्वास्थ्यमन्त्रीको पद सम्हालेदेखि नै माफियाहरुको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्।’

डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी ज्ञान, अनुभव नभएको र जान्ने प्रयास पनि नगरेको आरोप पनि लगाएका छन्।

बस्नेतलाई स्वास्थ्यमन्त्री बनाएर प्रधानमनत्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बस्नेतलाई स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गरेको आरोप पनि लगाएका छन्।

डा. केसीले विज्ञप्तिमा लेखेका छन्, ‘यो राजनीतिक तथा सामाजिक अपराध हो।’

यस्तै डा. केसीले अधिकांश ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएको, निःशुल्क औषधि नपाएको, हजारौ स्वास्थ्यकर्मी बेरोजगार रहेको, श्रमशोषण भइरहेको, सरकारी स्वास्थ्य संस्थाको संख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल सञ्चालन गर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .