ad ad

राजनीति


भूकम्प प्रभावितलाई एकीकृत समाजवादीको २५ लाख, मन्त्री र सांसदले १५ दिनको पारिश्रमिक दिने

भूकम्प प्रभावितलाई एकीकृत समाजवादीको २५ लाख, मन्त्री र सांसदले १५ दिनको पारिश्रमिक दिने

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १६:३४, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सोमवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए। त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए।

उनले भने, ‘आज पार्टीले पार्टीको कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गरी सरकारको राहत कोषमा २५ लाख रुपैयाँ पार्टीका तर्फबाट प्रदान गर्ने निर्णय गरेको छ। यसको स्रोत हामीले पार्टी कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गर्दै त्यहाँ बुझाउने छौँ। यही प्रयोजनका लागि हाम्रो पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्नुहुनेछ भन्ने निर्णय गरेका छौँ।’

बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ। प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेका छन्।

सदस्यहरुमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाइं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरु रहेको उनले जानकारी दिए।

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ। प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताए। उनले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताए।

बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौंमा गर्ने तय गरेको छ। प्रवक्ता खतिवडाले भोलि(मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .