ad ad

राजनीति


देश विपद्‌मा हुँदा राष्ट्रपति पौडेल युरोप भ्रमणमा जालान्?

पूर्वराष्ट्रपतिका सल्लाहकारले दिए यस्तो सल्लाह
देश विपद्‌मा हुँदा राष्ट्रपति पौडेल युरोप भ्रमणमा जालान्?

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १७:४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ गते १० दिने युरोप भ्रमणमा जाँदै छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ।

फ्रान्सको राजधानी पेरिसमा हुने ‘पेस पिस फोरम’मा भाग लिन जान लागेका उनले जर्मनी र इटालीको पनि भ्रमण गर्ने तालिका तय भएको छ। युरोपका तीन देश घुमेर मंसिर १ गते मात्र उनी स्वदेश फर्किने कार्यक्रम छ।

तर, यहीबीचमा नेपालले ठूलो विपत्तिको सामना गर्नुपरेको छ। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ।

यस्तो बेलामा राष्ट्रपति विदेश भ्रमणमा जान हुने कि नहुने भनेर बहस सुरु भएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका तत्कालीन सल्लाहकार टीकाप्रसाद ढकालले भ्रमण स्थगन गर्नु उचित हुने बताएका छन्। 

गाजामा इजरायल–प्यालेस्टिनी तनाव चर्किएका बेला कतारी राजाले नेपाल भ्रमण स्थगन गरेको सन्दर्भ स्मरण गराउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्-

‘निकै पर गाजामा युद्ध हुँदा कतारका राजाले हाम्रा प्रधानमन्त्रीबाट नै घोषणा गरिएको पूर्वनिर्धारित नेपाल भ्रमण स्थगन गर्नुभएको ताजै छ। एक हप्ता पनि बितेको छैन। आज हाम्रा राष्ट्रपतिज्यूलाई विनम्रतापूर्वक मेरो अनुरोध छ– हस्तिनापुरलाई अचानक भूकम्पले नराम्ररी क्षतिग्रस्त तुल्यायो । धृतराष्ट्र बन्नबाट जोगिने ठूलो उपाय छ( भोलि कि पर्सदेखि हुने भनिएको युरोप भ्रमणमा नजाने घोषणा गर्नुहोस् । तीन देशको भ्रमणमा हुने करिब १० करोड बराबरको खर्च भूकम्प प्रभावित जनताको राहत र उद्धारमा लगाउने घोषणा गर्नुहोस् । यसबाट थोरै भए पनि गणतन्त्रको इज्जत बच्छ । युरोपेली मित्रहरू लोकतान्त्रिक हुन्, उनीहरूले कुरो बुझिहाल्छन् । यस्तो बेला भ्रमणमा निस्कँदा आतिथेय मुलुकमा न मुलुकको प्रतिष्ठा बढ्दछ, न हाम्रो गणतन्त्रको।’

शीतलनिवासले भने अहिलेसम्म पूर्वनिर्धारित भ्रमणबारे पुनर्विचारका विषयमा कुनै छलफल नभएको जनाएको छ। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नेपालखबरसँग भने, ‘यस्तो (पुनःविचार) गर्ने कुरा कतै भएजस्तो लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .