राजनीति


विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैन : पूर्वराष्ट्रपति यादव

विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैन : पूर्वराष्ट्रपति यादव

नेपालखबर
माघ १५, २०७६ बुधबार ७:५८,

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरे।

वनजंगल नेपालको सम्पत्ति भएकाले जोगाउन सरकारलाई उनले आग्रह गरे। विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजंगलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजंगल मास्ने काम भइरहेको छ।’

उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको दुःखेसो गरे। उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै भने, ‘वनजंगल काटिएको देख्दा आँखाबाट आँशु झर्छ।’
प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए। भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाइ थियो।

आफैँ लहरी छुट्ने ढोरबाराही मन्दिर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइरहेको छ। पूर्वराष्ट्रपति डा यादवको भ्रमणले मन्दिरको प्रचारप्रसारमा सहयोग पुग्ने वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए। मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरबाराही मन्दिरको दर्शनका लागि तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवनलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन्।

चारैतिरबाट जंगलले घेरिएको पहाडको बीचमा अवस्थित मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शीला छन्। पोखरीमा पन्ध्र÷पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमयी लहरी (पानी घटबढ) ले यस मन्दिरको महिमा र आस्थालाई अझ उचो राख्न सहयोग पु¥याएको बताइएको छ।

उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन। हिउँदको समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ। पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad