ad ad

राजनीति


नेकपा केन्द्रीय समिति बैठक : १५ समूह, काठमाडौंका ३ ठाउँमा छलफल

नेकपा केन्द्रीय समिति बैठक : १५ समूह, काठमाडौंका ३ ठाउँमा छलफल

नेपालखबर
माघ १४, २०७६ मंगलबार १५:२२,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको दोस्रो बैठक बुधबार बिहान सुरु हुँदैछ।

अहिले नेकपा केन्द्रीय समितिमा ४ सय ४१ सदस्य छन्। केन्द्रीय कार्यालयको कोठा साँघुरो भएपछि बैठक राष्ट्रिय सभागृहमा गर्न लागिएको हो। 

बैठकलाई व्यवस्थित रुपमा सञ्चालन गर्न वर्णानुक्रमअनुसार ३०/३० जनाको १५ वटा समूह निर्माण गरिनेछ।

८ वटा समूहले राष्ट्रिय सभागृहमा, चार वटाले पार्टी कार्यालय धुम्बाराहीमा र तीन वटा समूहले पेरिसडाडाँस्थित केन्द्रीय कार्यालयमा छलफल गर्ने तयारी भएको छ।

‘बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन भाषण र अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ,’ केन्द्रीय सदस्य विष्णु रिजालले भने।

त्यसैगरी बैठकमा संगठनात्मक तथा विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले प्रदेशको प्रतिवेदन प्रस्तुत गर्नेछन्। बिहीबार समूहगत रुपमा छलफल हुने र त्यसपछि राजनीतिक प्रतिवेदनमाथिको टिप्पणी टोली प्रमुखले केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत गर्ने छन्।

दोस्रो बैठक, पहिलो प्रतिवेदन
पार्टी विधानमा ६/६ महिनामा केन्द्रीय समितिको बैठक हुने भनिएपनि २० महिनापछि नेकपा केन्द्रीय समितिको बैठक बस्न लागेको हो। पहिलो बैठक पार्टी एकीकरणकै दिन एकीकरणको निर्णयलाई औपचारिकता दिन बसेको थियो। त्यसयता नेकपा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन।

बैठकमा पहिलो पटक राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार गरेका छन्।

पुस पहिलो साता सम्पन्न भएको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले सो बैठकमा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा प्रस्तुत गरिने जानकारी गराएका थिए।

स्थायी समितिमा बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समावेश नगरिएको मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी)को विषयमा सवाल उठेपछि त्यस विषयमा विवाद भएको थियो।

स्थायी समितिले त्यस विषयमा आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको भएपनि अझै औपचारिक निर्णय भएको छैन। केन्द्रीय समिति बैठकमा पनि एमसीसीका विषयमा ठूलो बहस हुने सम्भावना छ।

‘खाजा छ, खाना छैन’
बैठकमा सहभागी हुने केन्द्रीय सदस्यलाई नाम खुलेको कार्ड वितरण गरिने छ भने बीएल शर्माको क्याटरिङबाट खाजाको व्यवस्था गरिएको छ।

‘खाजा छ र खाना छैन। उपत्यका बाहिरबाट आउने केन्द्रीय सदस्यहरुले आवासको व्यवस्था पनि आफैँले गर्नु हुनेछ,’ व्यवस्थापनमा संलग्न एक नेताले भने।

बैठकको व्यवस्थापन केन्द्रीय कार्यालयले गरिरहेको छ। केन्द्रीय सदस्यहरुका लागि परिचयपत्रको व्यवस्था गरिएको छ। बैठक पाँच दिनमा सक्ने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .