ad ad

राजनीति


प्रथम राष्ट्रपति यादवले गराए राष्ट्रपति पौडेलको ध्यानाकर्षण

प्रथम राष्ट्रपति यादवले गराए राष्ट्रपति पौडेलको ध्यानाकर्षण

नेपालखबर
असोज २५, २०८० बिहिबार २१:५५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रथम राष्ट्रपति डा रामवरण यादवले गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी केही प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेललाई पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा आज भेटेर सो ध्यानाकर्षण गराएका हुन्। 

राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति डा यादवसहित विज्ञहरूले गरेको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि पूर्व राष्ट्रपति डा यादवलगायत विज्ञलाई बताएका थिए।

मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो।

सो विधेयकमा हाल बन्द गरिएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी गर्नेबारेमा उल्लेख भएको पनि डा यादवले जानकारी गराएका थिए।

प्रथम राष्ट्रपति डा यादवले सो विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित भयो भने राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरूसहित राष्ट्रपतिसमक्ष आग्रह गर्न आउनुपरेको बताएका थिए।

‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति नामको यो परियोजना राष्ट्रपतिको नाममा जोडिएको र म पनि यसमा संलग्न भइसकेको हुनाले राज्यले यसलाई बेवास्ता गरिरहँदा त्यसमा राष्ट्रपतिको ध्यानाकर्षण  गराउनु आफ्नो पनि कर्तव्य हो भनेर भेट्न आएको हुँ’, प्रथम राष्ट्रपति डा यादवले भने, ‘अन्नको भण्डार नष्ट भइरहेको छ, अब पनि चुरे दोहन नरोक्ने हो भने गम्भीर अवस्था सिर्जना हुनसक्छ।’

सो अवसरमा प्रथम राष्ट्रपति डा यादवसँग चुरेविज्ञ डा विजयकुमार सिंह दनुवार, वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ, जैविक विविधताविज्ञ डा रामप्रसाद चौधरी, वन तथा चुरेविज्ञ डा विनोद भट्ट, डा नागेन्द्र यादव, कृषिविज्ञ डा कृष्ण पौडेल सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .