ad ad

राजनीति


उपप्रधानमन्त्री श्रेष्ठले गर्नेछन् तेस्रो बीआरएफमा नेपालको प्रतिनिधित्व

उपप्रधानमन्त्री श्रेष्ठले गर्नेछन् तेस्रो बीआरएफमा नेपालको प्रतिनिधित्व

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८० बिहिबार १४:१९, काठमाडौँ

चीनले आयोजना गरेको तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ्स फोरम (बीआरएफ) मा नेपालले उपप्रधानमन्त्री स्तरीय प्रतिनिधित्व गर्ने भएको छ।

मन्त्रिपरिषद‌्ले बुधबार तेस्रो बीआरएफमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको हो। 

तेस्रो बीआरएफका लागि चीनले उपप्रधानमन्त्री श्रेष्ठका अलावा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई निमन्त्रणा दिएको थियो। 

तीन मन्त्रीलाई केही हप्ताअघि नै निमन्त्रणा दिए पनि मन्त्रिपरिषद्‌ले बीआरएफमा सहभागितासम्बन्धी निर्णय नगरेका कारण प्रतिनिधित्वको टुङ्गो लागेको थिएन। 

यस सम्बन्धमा बुधबार साँझ टुङ्गो लागिसकेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठले दिए। तेस्रो बीआरएफ १७–१८ अक्टोबर (३० असोज–१ कार्तिक) मा बेइजिङमा हुँदै छ। 

‘बीआरएफमा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री स्तरबाट हुने भएको छ’ उपप्रधानमन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘मसहितको प्रतिनिधिमण्डल यसै हप्ता बेइजिङ प्रस्थान गर्नेछ।’

जानकारीअनुसार बीआरएफमा उपप्रधानमन्त्री श्रेष्ठका अलावा गृहमन्त्रालयका एकजना सहसचिव र परराष्ट्र मन्त्रालयका सहसचिव जानेछन्। 

मन्त्रिपरिषदले उपप्रधानमन्त्री श्रेष्ठलाई मात्र पठाउने निर्णय गरेकाले मन्त्रीद्वय बस्नेत र ज्वाला बीआरएफमा सहभागी हुने छैनन्। 

सन् २०१९ मा भएको दोस्रो बीआरएफमा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। 

दोस्रो बीआरएफबाट जारी संयुक्त बक्तव्यमा नेपाल–चीन सीमापार मल्टिडाइमेन्टसनल कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने घोषणा गरिएको थियो। 

बीआरएफमा सहभागिताका लागि हुने उपप्रधानमन्त्री श्रेष्ठको यसपटकको चीन भ्रमणमा दुई मुलुकबीच कुनै सम्झौता भने हुने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .