राजनीति


बीआरआई फोरममा झलनाथ खनाल पनि सहभागी हुने

बीआरआई फोरममा झलनाथ खनाल पनि सहभागी हुने

फोरममा नेता खनालका अलावा सो पार्टी सम्बद्ध बुद्धिजीवी प्रा.डा. युवराज संग्रौलाले भाग लिन लागेका हुन्


नेपालखबर
असोज २४, २०८० बुधबार १५:३३, काठमाडौँ

चीनले आयोजना गरेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुने भएका छन्। 

फोरममा नेता खनालका अलावा सो पार्टी सम्बद्ध बुद्धिजीवी प्रा.डा. युवराज संग्रौलाले भाग लिन लागेका हुन्।  

तेस्रो ‘बीआरएफ’ मा सहभागी हुने भएपछि पार्टीले १४ असोजदेखि सुरु गरेको मेची–महाकाली समाजवादी जागरण अभियानमा सहभागी खनाल आजै नेपालगञ्जबाट काठमाडौं आउँदैछन्। 

‘हो, पार्टीको तर्फबाट तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ्स फोरममा भाग लिन सम्मानित नेता झलनाथ खनाल चीन जाँदै हुनुहुन्छ’ एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘चीन जाने कार्यक्रम तय भएकाले उहाँ आजै साँझ काठमाडौं फर्कंदै हुनुहुन्छ।’ 

पूर्व प्रधानममन्त्री समेत रहेका सम्मानित नेता खनाल एकिकृत समाजवादीको विभाग प्रमुख समेत छन्। सोही हैसियतमा उनी तेस्रो बीआरएफमा सहभागी हुन लागेका हुन्। 

बेल्ट एण्ड रोड फोरममा सम्बन्धित मुलुकको प्रतिनिधित्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारले तोकेको प्रतिनिधिले गर्ने भएपनि दोस्रो बीआरएफमा तत्कालिन सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपाल सहभागी थिए।

उनी त्यो बेला नेकपाको विदेश विभाग प्रमुख थिए। 

खनालसँगै तेस्रो बीआरएफमा सहभागी हुन लागेका संग्रौला बीआरआई मामिलाका जानकार समेत मानिन्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का बारेमा उनले पुस्तक समेत प्रकाशित गरेका छन्। 

वर्तमान सत्तारुढ गठबन्धनले सरकार निर्माण गरेपछि एकीकृत समाजवादीको तर्फबाट संग्रौला चीनका लागि नेपाली राजदूत बन्ने चर्चा समेत चलेको थियो। 

तर, चीन माओवादी केन्द्रको कोटामा पर्यो। एकिकृत समाजवादीको भागमा भने रुस लगायतका केही मुलुक परे। 

स्रोतका अनुसार, एकीकृत समाजवादीको भागमा परेका अन्य मुलुकमा राजदूत हुन पार्टीले अनुरोध गरेपनि चीनबाहेकका मुलुकको जिम्मेवारीमा संग्रौलाले अनिच्छा जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad