प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिमेकसँगको सम्बन्धमा पुनरावलोकन गर्न लागेको बताएका छन्।
शनिबार परराष्ट्र मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले समानतामा आधारित छिमेकी सम्बन्ध चाहेको बताए। उनले त्यसका लागि छिमेक सम्बन्ध पुनरावलोकन गर्न लागेको बताए।
उनले नेपालभारत प्रवुद्ध समूह (ईपीजी)ले महत्वपूर्ण काम गरेको बताए। ‘ईपीजीले महत्वपूर्ण काम गरेको छ। काम पूरा गरेर प्रतिवेदन बुझाउने अवस्थामा राखेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रतिवेदन बुझाउने अवस्था चाँडै बन्ने विश्वास छ।’ उनले प्रतिवेदन बुझिसकेपछि त्यसलाई कार्यान्वयनमा लैजाने बताए।
छिमेकमा पनि भारतलाई जोडदिँदै उनले बेलाबेला हुने खटपटपूर्ण सम्बन्धको अन्त्य गर्न चाहेको बताए। उनले भने ‘हाम्रो नीति सबैसँग मित्रता कसैसँग छैन शत्रूता भन्ने हो।
नेपालले छिमक र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि सन्तुलित नीति अवलम्बन गरेको बताए। उनले दल अनुसारको परराष्ट्र नीति नभइ सबैको एउटै नीति हुनुपर्ने बताए। ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा बोल्नुपर्छ । सरकारले एकलौटी काम गर्दैन’, उनले भने।
उनले अन्तराष्ट्रिय सम्बन्ध राष्ट्रिय हितलाई हेरेर गरिनु पर्नेमा जोड दिए। ‘अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रिय हितलाई हेर्ने पर्छ तर राष्ट्रिय हितलाई हेरेर न्यायलार्य हेरिएन भने त्यो अन्ध राष्ट्रहित हुन्छ’, उनले भने, ‘शक्ति नै सत्य हो भन्ने कुरा स्वीकार्य हुनै सक्दैन।’
प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासँगै देश विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताए। उनले विदेशी ऋण र अनुदान सरकारको प्राथमिकता नभएको बताए। अनुदान र ऋृणमा आकर्षित नभइ लगानी भित्र्याउनेतर्फ ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया