राजनीति


शान्ति प्रक्रियाबारे ओलीले दिएको अभिव्यक्तिको राजनीतिक प्रतिवाद गर्नेछौँ : पुन

शान्ति प्रक्रियाबारे ओलीले दिएको अभिव्यक्तिको राजनीतिक प्रतिवाद गर्नेछौँ : पुन

नेपालखबर
असोज १८, २०८० बिहिबार २०:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको आफूहरुले राजनीतक प्रतिवाद गर्ने बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक विषयको प्रतिवाद रानजीतिक तवरले नै गर्ने बताए।

एमाले संस्थागत रुपमै शान्ति प्रक्रियासहित त्यसयताका सबै राजनीतिक प्रक्रियामा सहभागी हुँदै आएको भन्दै पुनले मुलुकको प्रमुख समस्याबाट एमाले अलग रहन नसक्ने टिप्पणी गरे।

एमाले र आफ्नो दल मिलेर तत्कालीन नेकपा बनेको स्मरण गर्दै पुनले त्यतिबेलाका दस्तावेजमा आफूहरुको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताबारे आधिकारिक दस्तावेजमा धेरै विषय उल्लेख गरिएको सम्झिए।

‘एमाले र हामी मिलेर नेकपा बनायौं, पार्टी एकतापछि सँगै चुनावमा गयौं। सरकारमा सहकार्य गरेका छौं’, पुनले भने, ‘संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ। नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ।’

उनले उक्त यथार्थ स्वीकार नगर्ने भए राजनीतिक परिवर्तन स्वीकार नगरको अर्थ लाग्ने तर्क गरे। यद्यपि पुनले शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउन एमाले बाधक बन्छ भन्ने आफूले नठानेको बताए। सेना समायोजन र संविधान लेखनमा एमाले र आफ्नो दलबीच सहकार्य भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि सहकार्यको विकल्प नरहेको उल्लेख गरे।

‘हिजो हामीले मिलेरै सेना समायोजन गरेका हौं। मिलेरै संविधान बनायौं। शान्ति प्रक्रियाका बाँकी काम पनि मिलेरै टुंगोमा पुर्‍याउँछौं’, पुनले भने, ‘एमाले संस्थागत र आधिकारिक रुपमै शान्ति प्रक्रियाको खिलाफमा छ भन्ने लाग्दैन र उसले त्यस्तो गर्नु पनि हुन्न।’

शान्ति प्रक्रियाको सुरुदेखि नै एमालेले स्वामित्व लिएको र  बाँकी काममा पनि उसको स्वामित्व रहने उनले बताए। 

पुनले शान्ति प्रक्रिया टुंग्याउने क्रममा दुवै पक्षबाट पीडित भएकाहरुले बिनाभेदभाव न्याय पाउनुपर्नेमा आफूहरु सचेत रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad