ad ad

राजनीति


उपसभामुख आफ्नो पक्षमा पार्न महन्थ र राजेन्द्रबीच तानातान

उपसभामुख आफ्नो पक्षमा पार्न महन्थ र राजेन्द्रबीच तानातान

नेपालखबर
माघ १३, २०७६ सोमबार १५:९,

सत्तारुढ नेकपाबाट उपसभामुख पद पाउने संकेत देखेपछि राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवार चयनबारे आन्तरिक छलफल तीव्र बनाएको छ। उपसभामुख आफ्नो पक्षमा पार्न राजपा अध्यक्ष मण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतोबीच प्रतिस्पर्धा सुरु भएको छ।

उपसभामुख बन्ने दौडमा राजपामा सांसदहरु चन्दा चौधरी र अमृतादेवी अग्रहरी छन्। अग्रहरी महतो र चौधरी महन्थ ठाकुरनिकट हुन्।

‘उपसभामुखमा चन्दा चौधरी र अमृता अग्रहरी दुईजना सांसदहरुले दाबी गरिरहनुभएको छ,’ राजपाका एक नेताले नेपालखबरसँग भने। दुवैजना समानुपातिक सांसद हुन्।

राजपालाई उपसभामुख दिन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच सहमति कायम भएको सूचना पाएदेखि नै राजपामा उपसभामुखको उम्मेदवारबारे का अध्यक्षमण्डलका सदस्यहरुले एकल र सामूहिक छलफल सुरु गरेका हुन्।

पार्टीले जिम्मेवारी दिए उपसभामुखमा जान तयार रहेको सांसद अग्रहरीको भनाइ छ।

‘एकतादेखि आजसम्म निरन्तर पार्टीमा संघर्ष गरेको कुरालाई पार्टीले मूल्यांकन गरेर क्षमताको आधारमा जिम्मेवारी दिए लिन तयार छु,’ उनले नेपालखबरसँग भनिन्, ‘तर पार्टी नेतृत्वले नदिने भएपनि उक्त निर्णय मान्छु।’

राजपाका सांसद लक्ष्मणलाल कर्णले उपसभामुख आफ्नो दलले पाउने निश्चित भए नामबारे निर्णय गर्न कुनै समस्या नभएको बताए।

‘दिनेले पहिले दिनुपर्‍यो, नाम टुंगो लगाउन हामीलाई कुर्न समस्या छैन, सर्वसम्मत रुपमा नामबारे निर्णय गर्न सक्छौं’ उनले भने, ‘अहिले दुईजना सांसदहरुले दाबी गरिरहनुभएको छ, तर पार्टीका ६ जना सांसद नै योग्य हुनुहुन्छ।’

अध्यक्षमण्डलका सदस्यहरु निरन्तर छलफल गरेको जानकारी दिँदै कर्णले उपसभामुख आफ्नो दललाई दिनेबारे नेकपाबाट आउने प्रस्तावको प्रतीक्षामा आफूहरु रहेको बताए।

‘भोलि संसद बैठक बस्दैछ, त्यसपछि यसबारे केही धारणा आउला,’ अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको भनाइ उधृत गर्दै नेता कर्णले भने।

संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख भिन्न दल र भिन्न लिङ्गका चुनिनुपर्ने हुन्छ।

सत्तारुढ नेकपाले सभामुख लिएपछि उपसभामुख लिन नपाउने भएकाले उसले आफूलाई सहज हुने गरी राजपालाई उपसभामुख दिने तयारी गरिरहेको छ।

सभामुखमा राजपाले समर्थन गरेको कारण नेकपा राजपालाई उपसभामुख दिन तयार भएको हो।

सभामुखमा सत्तारुढ दलका नेता अग्नि सापकोटालाई समर्थन गरेको राजपाले उपसभामुख आफूहरुले पाउनुपर्ने बताउँदै आएको थियो।

त्यसअघि दुवै दलले राष्ट्रियसभाको माघ ९ गते भएको निर्वाचनमा प्रदेश २ मा चुनावी गठबन्धन बनाएका थिए।

पछिल्लो समय नेकपा र राजपाबीचको सम्बन्ध राम्रो हुँदै गएपनि उपसभामुखमा कांग्रेसले पनि इच्छा देखाइरहेकोले ढुक्क भइहाल्ने अवस्था नरहेको राजपाका नेताहरु बताउँछन्।

मंगलबार बस्ने संसदको बैठकबाट उपसभामुखको निर्वाचन कार्यातालिका सार्वजनिक हुने सम्भावना छ। तर, त्यसअघि बस्ने कार्य व्यवस्था बैठकबाट सो बारेमा निर्णय हुनेछ।

नेकपाबाट उपसभामुख रहेकी डा.शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .