ad ad

राजनीति


नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

नेपालखबर
माघ १३, २०७६ सोमबार १२:२६,

भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेत जिल्लामा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७६ को समापन गरिएको छ।

सोमबार एक विशेष समारोहबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्मेलनको समापन गर्दै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु अडिग र अविचलित रहँदै पुर्खाहरुको रगत, पसिना र बलिदानद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जिवन्त राख्‍न सेवारत र सेवानिवृत्त सैनिक व्यक्तिहरु सदैव समर्पित रहेको र रहनु पर्ने बताए।

उनले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए। सम्बोधनकै क्रममा उनले नेपाली सेनाको संस्थागत मूल्य मान्यताहरुलाई जीवन्त राख्‍न अग्रज अवकाश प्राप्त सैनिकहरुले पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै अवकाश प्राप्त सैनिकहरुको आर्थिक समुन्‍नति, प्रगति र सुखमय जीवनको व्यवस्थापन हुनु भनेकै नेपाली सेनाको आधार स्तम्भ बलियो हुने विश्वास व्यक्त गरेका थिए। साथै नेपाली सेनामा आफ्ना सन्ततीहरुलाई प्रवेश गराउन अभिप्रेरित गर्न आग्रह गर्दै सबैलाई चट्टान झैं दृढ, माहुरी झैं गोलबद्ध र एकिकृत रहन प्रेरणा मिलोस् भन्‍ने सदिक्षा व्यक्त समेत गरेका थिए।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा हुम्ला, जुम्ला, डोल्पा, मुगु, दैलेख, सुर्खेत र जाजरकोट जिल्लामा बसोबास गर्ने नेपाली सेनाका एक हजार चार सय ५०जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागीता रहेको थियो। सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पीटी प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो। यस्तै, फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित ७ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .