ad ad

राजनीति


एमाले बागमतीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी

एमाले बागमतीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार २३:२९, काठमाडौँ

करिब एक सातासम्म चलेको नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्।

एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसहितको समर्थन मिलेका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन्।

अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत ल्याए भने पराजित भएका दाहालले ४३९ मतमा चित्त बुझाए। 

अध्यक्ष ओलीको चाहना अनुसार सर्वसम्मत गराउने प्रयास विफल भएपछि शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मतदान भएको थियो।

उक्त मतदानमा ढुंगेल र दाहाल दुवैजना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। अध्यक्षमा उम्मेदवारी दिएका पाँचमध्ये तीनजना पछि हट्दा दुईजनाबीच चुनाव भएको थियो।

अर्कातिर उपाध्यक्षमा दावादोर्जे लामाले जित निकालेका छन्। उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन्। 

उता सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका नवराज सिलवाल विजयी भएका छन्। सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत धेरैले विजयी भएका हुन्। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए। 

खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन ५९९ मतसहित विजयी भएका छन्। महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएकी छन्। 

शुक्रवार दिउँसो सवा १ बजेदेखि सुरू भएको मतदान साँझसम्म भएको थियो। ११७२ जना मतदातामध्ये ११३१ जनाले हालेका थिए। ४१ जना अनुपस्थित भएको निर्वाचन समितिका संयोजक डिल्ली मैनालीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .