ad ad

राजनीति


नेम्वाङलाई सम्झिँदै ओलीले लेखे : संविधान रोक्ने दबाबलाई उहाँले स्वीकार्नु भएन, बरु नाकाबन्दी खप्यौँ

नेम्वाङलाई सम्झिँदै ओलीले लेखे : संविधान रोक्ने दबाबलाई उहाँले स्वीकार्नु भएन, बरु नाकाबन्दी खप्यौँ

नेपालखबर
भदौ २८, २०८० बिहिबार १९:१९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङको अडानकै कारण २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको बताएका छन्। 

मंगलबार निधन भएका नेम्वाङको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। नेम्वाङलाई अन्तिम बिदाइ गरेर फर्किएका ओलीले २०७२ मा संविधानसभाको अध्यक्ष रहेका नेम्वाङको अडान र सक्रियताकै कारण संविधान जारी गर्न सम्भव भएको बताएका हुन्। 

‘प्रिय! साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यस कठिन बेलाको दृश्य आँखाअगाडि आयो। नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमानाकामा गाडी रोकिन थालिसकेका थिए। भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौँ। अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो।’ 

संविधान जारी गर्ने समयमै विभिन्न जातीय, क्षेत्रीय र धार्मिक समूहलाई उत्तेजित बनाउने काम हुँदा पनि त्यसलाई सम्हालेर संविधान जारी गर्न सफल बताएको बताएका छन्। 

‘त्यहीबेला विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए’, ओलीले संविधान जारी गर्दाको समय सम्झिँदै लेखेका छन्, ‘नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपिरहेका थियौँ।  संविधानसभामा सधैँ शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनु भएको थियो।’ 

ओलीले त्यसबेला दलका  नेताहरु, संविधानसभाका अध्यक्ष नेम्वाङ र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामाथि संविधान रोक्न तीव्र दबाब आएको खुलाएका छन्। 

‘दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब थियो’, उनले भनेका छन्, ‘भारतीय विदेश सचिव (एस जयशंकर, जो अहिले भारतीय विदेशमन्त्री छन्) आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनु भयो’, उनले अगाडि लेखेका छन्, ‘उहाँले अलिक हडबडाउँदै भन्नुभयो–‘डरलाग्दो स्थिति छ, ३ गते (असोज) संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुने छ। यस्तो भयो भने त देश नै सकिन्छ।’  

भारतीय विदेश सचिवको दबाबबीच नेम्वाङले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई भेटेको कुरा पनि ओलीले सम्झिएका छन्। 

‘उहाँ असोज ३ गते संविधान जारी गर्न संसद्‍मा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा आउने, नआउने केही भन्नु भएनछ’, ओलीले लेखेका छन्, ‘नआउन पनि सक्ने देखेँ, के गर्ने होला?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ। उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ।’

असोज ३ गते संविधान जारी भएलगत्तै नेपालमा भारतीय नाकाबन्दी सुरु भएको थियो। ‘हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो’, ओलीले अन्तिममा लेखेका छन्, ‘हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .