राजनीति


ढाकाकुमारसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ : रास्वपा

ढाकाकुमारसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ : रास्वपा

नेपालखबर
भदौ २८, २०८० बिहिबार १८:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताएका हुन्। उनले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताए। उनले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताए।

उनले भने, ‘हामी त्यसको पनि छानबिन गरिरहेका छौँ। जसरी उहाँले गरेका कुरा प्रमाणित भएर उहाँलाई पार्टीले जसरी कारबाही गर्यो। त्यसैगरी उहाँले अहिले बोलेका कुराहरु सत्यतथ्य प्रमाणित भयो भने त्यहाँपनि कारबाही हुन्छ। हामी छानबिन गर्दैछौँ त्यो टुंग्याउँछौँ। चाँडै नै हुन्छ।’

रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो। डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad