राजनीति


हरि पराजुली समाजवादीका सचिव बने, रामकुमारी झाँक्री युरोप र ल्याटिन अमेरिकाको इन्चार्ज

हरि पराजुली समाजवादीका सचिव बने, रामकुमारी झाँक्री युरोप र ल्याटिन अमेरिकाको इन्चार्ज

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८० बिहिबार १५:५५, काठमाडौँ

नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री पछिल्लो समय सक्रिय देखिन्‍नन्।

एकीकृत समाजवादीको भदौमा बसेका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि पार्टीले आफूलाई उचित भूमिका नदिएको भन्दै उनी असन्तुष्ट छिन्। 

एकीकृत समाजवादीलाई निर्वाचन आयोगमा दर्ता गराउँदा उनैले माधवकुमार नेपालको हात समातेर लगेकी थिइन्। तर उनी र अध्यक्ष नेपालबीचको सम्बन्ध पछिल्लो समय सुमधुर छैन।

खासगरी मन्त्रीबाट छोटो समयमै हटेयता दुई नेताबीचको सम्बन्धमा चिसोपना देखिएको छ। २०७९ मंसिरको निर्वाचनमा पनि उनले आफ्नो क्षेत्र गुल्मीमा सम्मानित नेता झलनाथ खनाललाई लगिन्। तर त्यहाँ अध्यक्ष नेपाल गएनन्। 

अध्यक्ष नेपालसँगको तिक्ततापूर्ण सम्बन्धका कारण उनले पार्टीमा आफूले उचित भूमिका पाउन नसकेको सार्वजनिक रुपमै बताउने गरेकी छन्।

समाजवादीमा सचिवको भूमिकामा रहेकी उनले आफू काम गर्न तयार रहे पनि त्यहीअनुसारको भूमिमा चाहिने बताउँदै आएकी छन्। 

यसबीचमा यही भदौ ५ गतेदेखि ७ बसेको केन्द्रीय समिति बैठकपछि अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा रामकुमारीलाई प्रवास विशेष प्रदेशको कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ।

अध्यक्ष नेपालको अपानिमा उनलाई प्रवास विशेष प्रदेशको पार्टी कामको
संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्ज बनाइएको उल्लेख छ।

हरि पराजुली सचिव बने 
उता कुनै बेला धान दिवसमा गरेको उपद्रोका कारण चर्चामा आएका पूर्वकृषि मन्त्री हरि पराजुली नेकपा एकीकृत समाजवादी सचिव बनेका छन्। 

भदौ ५-७ को केन्द्रीय समिति बैठकबाट पराजुलीलाई सचिवमा मनोनीत गरेको अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिमा उल्लेख छ।

पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। 

उनी वामदेवलाई छाडेर समाजवादीमा प्रवेश गरेलगत्तै स्थायी कमिटी सदस्य भएका थिए। अब उनी समाजवादीको पदाधिकारी बन्न सफल भएका छन्। उनले लुम्बिनी प्रदेश इन्चार्जको भूमिका पनि पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .