राजनीति


नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता

नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता

नेपालखबर
भदौ २६, २०८० मंगलबार २१:१९, काठमाडौँ

राजनीतिक दलका नेताले नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताएका छन्।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुगेका शीर्ष नेताले उनको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै अप्ठेरा र जटिलतालाई पार गर्न अगुवाइ गर्ने नेताका रूपमा नेम्वाङ रहेकाले उहाँको योगदानलाई इतिहासले सधैँभरि स्मरण गर्ने बताए।

उनले नयाँ पुस्ताले पनि नेता नेम्वाङबाट प्रेरणा लिई अगाडि बढ्नुपर्ने धारणा राखे। ‘उहाँ सादा, स्वच्छ छविको नेताको रूपमा रहनुहुन्थ्यो’, नेता नेपालले भने, ‘मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहना पनि उहाँमा रहेको थियो। संविधान निर्माण मात्र नभएर कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा पनि उहाँमा अत्यन्त धेरै हुटहुटी रहेको थियो।’

नेता नेपालले नेम्वाङ मुलुकको राजनीतिमा जहिले पनि सहमति र समझदारीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने कुरामा दृढ रहेको भन्दै उनको निधनले सिङ्गो लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन र परिवर्तनको आन्दोलनका निम्ति ठूलो क्षति भएको बताए।

उनले संविधान निर्माण र सदन सञ्चालन गर्ने कुरामा पनि उनको कुशलता उदाहरणीय रहेको बताए। ‘संविधान निर्माण र संविधानको व्यवस्थापन गर्ने बेलामा उहाँले जुन खुबी प्रदर्शन गर्नुभएको थियो त्यो कमै व्यक्तिबाट त्यस्तो हुन्छ’, उनले भने, ‘उहाँ मिलनसार, मृदृभाषी, शालीन, धैर्य, सबैलाई बुझाउनुसक्ने खुबी र सहिष्णु पनि हुनुहुन्थ्यो।’

नेता नेपालले नेम्वाङ आफ्नो निम्ति नभएर देशका निम्ति केही गरौँ भन्ने भावना र परिवर्तनलाई संस्थागत गर्ने सोच रहेको उल्लेख गर्दै उहाँको आवश्यकता अहिले झन टड्कारो रहेको बताए। 

‘नेता नेम्वाङसँग २०५१ सालमा एउटै सरकारमा रहेको उल्लेख गर्दै उहाँलाई असल व्यक्ति, लोकतान्त्रिक योद्धा र परिवर्तनकारी व्यक्तिका रूपमा र कम्युनिष्ट पार्टीको पनि गौरव गर्न लायक योद्धाका रूपमा स्मरण गर्न चाहन्छु,’ उनले भने।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेपाली राजनीति अहिले असहज अवस्थामा रहेको बेला नेता नेम्वाङको अभाव खड्किने बताए।

‘धेरै अप्ठेरो पर्दा पनि तिक्तभावबाट छुट्टिनुपर्दा उहाँ मुसुक्क हाँसेर के गर्ने हो कसरी अगाडि जाने  हो भन्नुहुन्थ्यो’, उनले भने, ‘अप्ठेरो र तिक्त बेला उहाँ सबै नेतासँग मुुसुक्क हाँसेर राजनीतिको एउटा बाटो निकाल्यो भन्ने मान्छे उहाँबाहेक अरु कोही छैन होला सायद।’ उनले हरेक अप्ठेरोमा नेम्वाङलाई आफूले खोजिरहने बताए।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षामान पुनले नेम्वाङ सन्तुलित र परिपक्व नेता भएको बताए। उनले राष्ट्रिय समस्या भएका सबै नेतालाई एक ठाउँमा ल्याउन सक्ने र राजनीतिक दलहरू अप्ठेरो अवस्थामा रहेको बेला पनि वार्ता, संवाद र सहकार्य गर्नसक्ने खुबी भएको नेताको रूपमा स्मरण गर्ने बताए।

नेता पुनले लामो समयसम्म पनि वामआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उनको अभाव खड्किरहने बताए। उनले नेता नेम्वाङलाई मिलनसार, सबैसँग समान व्यवहार गर्नसक्ने नेताको रूपमा आफूले चिन्ने गरेको बताए। ‘नेकपा छँदा पनि नेताबीचको विवाद हुँदा उहाँले सहजीकरण गर्ने र सबैले विश्वास गर्ने नेता हुनुहुन्थ्यो’, नेता पुनले भने, ‘शान्ति निर्माणका बाँकी काम टुङ्ग्याउन उहाँले निकै नै मेहनत गरिरहनुभएको थियो।’

उनले नेता नेम्वाङ सङ्क्रमणकालीन काम सकाउन र पीडितमैत्री कानुन बनाउन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि त्यसअनुसारको काम गर्ने वातावरण बनाउन पनि क्रियाशील रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad