ad ad

राजनीति


प्रचण्ड र देउवाले भने– टीआरसी विधेयकमा सहमति गरौं, ओलीको जवाफ– अध्ययन गर्छु

प्रचण्ड र देउवाले भने– टीआरसी विधेयकमा सहमति गरौं, ओलीको जवाफ– अध्ययन गर्छु

नेपालखबर
भदौ २०, २०८० बुधबार २०:४८, काठमाडौँ

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई संसद्‌बाट पारित गराउने विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले सभामुखसहित तीन दलसँग छलफल गरेका छन्।

बुधबार दिउँसो ३ बजे सुरुमा सभामुख देवराज घिमिरेसँग छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।

तर, ओलीले एकपटक अध्ययन गर्ने र साथीहरूसँग छलफल गर्ने बताएपछि टीआरसीका विषयमा कुनै निर्णय नभएको नेताहरूले बताएका छन्।

‘टीआरसीका विषयमा एकपटक अध्ययन गर्छु, साथीहरूसँग छलफल गर्छु भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘एक/दुईदिनमा फेरि छलफल हुन्छ।’

अध्यक्ष ओलीले टीआरसीमा केही बुँदा सुधार गर्नुपर्ने खालका रहेको बताएका छन्। दलहरुबीच सहमति नजुटेकै कारण प्रतिवेदन तयार पार्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको संसदीय उपसमितिको म्याद सात दिन थप गरिएको छ। 

बुधबार कांग्रेस सभापति देउवाले पनि विधेयकमा साझा समझदारी कायम गरेर जान आग्रह गरे।

‘प्रधानमन्त्रीले संक्रमण कालीन न्याय सम्बन्धि विधेयकलाई संसद्‌बाट सबै दलको सहमतिमा टुंगो लगाउन सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नेपालखबरसँग भने, ‘तर कुनै निष्कर्ष निस्किसकेको छैन।’

टीआरसी विधेयक संसद्को उपसमितिमा विचाराधीन छ। वैशाखदेखि यता सो विधेयक उपसमितिमा थन्किएको छ।

उपसमितिले प्रतिवेदन तयार पार्नुअघि दलहरूबीच सहमति जुटाउन प्रधानमन्त्रीले छलफल तीव्र बनाएका हुन्।

गत जेठ ५ मा २१ दिन समय दिएर उपसमिति गठन भएको थियो। 

तर उक्त समयमा पनि उपसमितिले प्रतिवेदन नबुझाएपछि साउन ५ गते १५ दिनको म्याद थप गरिएको थियो। 

संसद्मा उक्त विधेयक गत फागुन २५ गते दर्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .