ad ad

राजनीति


कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १२:३४, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार (आज) पूर्ण सुनुवाइ नहुने भएको छ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो।

तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि  सुनुवाइ नै नहुने भएको हो।

‘आज सुनुवाइ नहुने भयो, न्यायाधीश खतिवडाले म हेर्दिनँ भन्नुभयो’, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपालखबरसँग भने। 

यसअघि खतिवडाको एकल इजलासले नै प्रारम्भिक सुनुवाइ गरेको थियो। खतिवडाले नै आज पूर्ण सुनुवाइका लागि पेसी तोकेका थिए। तर गोलाप्रथाबाट पेसी तोक्दा उनैको इजलासमा परेपछि सुनुवाइ नुहुने भएको हो।

प्रारम्भिक सुनुवाइ गरेकै न्यायाधीशकोमा पूर्ण सुनुवाइ गर्न नमिल्ने बाध्यात्मक व्यवस्था भने होइन। तर खतिवडाले यसअघि नै आफूले आदेश गरिसकेकाले पूर्ण सुनुवाइ नगर्ने भनेकाले आजै आदेश नहुने भएको हो। 

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतले बहुमत पुर्‍याएको भन्दै विपक्षी दलका सांसद हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

कोशीमा गठबन्धनका पक्षमा बहुमत पुर्‍याउन सभामुखले राजीनामा दिएका थिए। सभामुखले राजीनामा दिइसकेपछि उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने थियो। 

तर विश्वासको मत लिन दिन उपसभामुख बिरामीको बहानामा काठमाडौं आएकी थिइन्। त्यसपछि ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने थियो। तर ज्येष्ठ सदस्य सबैलाई बिदामा राखेर विपक्षी दलले सत्ता पक्षलाई नै सभाध्यक्षता गर्न बाध्य बनाएका थिए। 

सत्ता पक्षका सांसदले आफैँ सभाध्यक्षता गरेर विश्वासको मत पनि दिएका थिए। त्यसविरुद्ध पूर्व मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन्। उनले उद्धव थापालाई मुख्यमन्त्रीबाट हटाएर आफूलाई मुख्यमन्त्रीको शपथ गराउन निवेदनमा माग गरेका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिँदै आवश्यक बहुमत ४७ पुर्‍याइएको थियो। 

यसविरुद्ध एमाले प्रदेश संसदीय दलका नेता कार्कीले यही भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्। 

तर उनले उपसभामुखलाई भने विपक्षी बनाएका छैनन्। उपसभामुख उनकै दलकी सिर्जना दनुवार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .