प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधानविपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्री दाहालको उक्त भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै गिरीले त्यसप्रति निन्दा र भर्त्सनासमेत गरे।
प्रमुख सचेतक गिरीले आपसमा मिलेका नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री आफैं संलग्न गरेको आरोपसमेत लगाए।
‘पछिल्लो समय प्रधानमन्त्रीज्युले जुन प्रकारले म जातीय राज्यको पक्षमा छु। तपाईंहरु जाग्नुस्, उठ्नुस्। तपाईंहरुले मलाई बल दिनुपर्ने बेला आएको छ। बल दिनुस्। म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु। हाम्रो पार्टीलाई बहुमत दिनुस् जजस्ता अभिव्यक्तिहरु दिँदै आउनुभएको छ, यो अभिव्यक्ति असंवैधानिक त छँदैछ’, उनले भने, ‘यसले मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैल्याउने, हिंसा भड्काउने, अराजक सृजना गर्ने र त्रादसीपूर्ण स्थिति ल्याउने छ। जसलाई प्रधानमन्त्रीले मलजल गरिरहनुभएको छ। प्रधानमन्त्रीजस्तो व्यक्ति यसरी विद्वेष र घृणा फैल्याउन लाग्नु स्वीकार्य छैन।’
प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिर समेत गरेका छन्।
Shares

प्रतिक्रिया