ad ad

राजनीति


उपत्यकामा माओवादीको शून्य संगठनलाई उठाउन खटिँदै जनार्दन शर्मा

उपत्यकामा माओवादीको शून्य संगठनलाई उठाउन खटिँदै जनार्दन शर्मा

माओवादी उपमहासचिव जनार्दन शर्मा। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १३:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा यतिबेला बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा खटिएका छन्।

तीन महिने रुपान्तरण अभियान इन्चार्जको जिम्मेवारी पाएका उनले मुख्यगरी उपत्यकाको शून्य अवस्थामा पुगेको संगठन ब्युँताउने लक्ष्य लिएका छन्।

दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे हुँदै उनले काठमाडौंमा एक चरण बैठक राखिसकेका छन्। अब ललितपुर र भक्तपुरको बैठक राख्ने तयारीमा छन्। 

नेकपा माओवादीका केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार बागमती प्रदेशभरीका शहरी इलाकाको संगठनलाई चलायमान गराउन जनार्दनको सक्रियता बढेको छ। 

उपत्यकामा माओवादी पार्टी सदस्यको संख्या, स्थानीय निर्वाचनमा उपस्थिति संघ, प्रदेश निर्वाचन परिणाम लगायतका विवरण लिएर नयाँ संगठन निर्माणको खाका बनाउन उनी केन्द्रित छन्। 

२०७९ वैशाख ३०मा सम्पन्न स्थानीय चुनाव र मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्र उपत्यकामा कमजोर बनेको छ। 

‘संगठन त्यसै बन्दैन, जनतालाई विश्वास दिलाउनु सक्नुपर्छ, उनीहरुको मनमा पार्टीप्रति सकारात्मक छाप राख्न सके संगठन चलायमान हुन्छ,’ बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जनार्दनले भने,  ‘उपत्यकामा पार्टी निर्माणमा खटिनुभएका तपाईँ कमरेडहरु पहिला काठमाडौं बुझ्नुस्। यहाँको चरित्र, वर्ग र यहाँ विद्यमान समस्या पहिलाउन लागि परौँ।’

‘काठमाडौंको विशेषता बुझ्न जानिएन भने संगठन निर्माण गर्न सकिँदैन। यान्त्रिक शैलीले संगठन बन्दैन, यहाँ भौतिक आवश्यकताभन्दा बढी मनोविज्ञान महत्वपूर्ण छ,’ उनले थपे,‘काठमाडौं इतिहास, कला, संस्कृति र अर्थतन्त्रको केन्द्रका रुपमा छ, सुरुदेखि आजसम्म यो सहर एक प्रकारको सम्मृद्ध, बैभवशाली र प्रभावशाली रुपमै कायम छ।’

‘विभिन्न राजा महाराजाहरुको कालखण्ड व्यहोरेको काठमाडौं नेवारहरुको आदि थलो हो। त्यसका बावजुद सभ्यता, शासन–प्रशासन र सांस्कृतिक विविधता काठमाडौंका मूल परिचय हुन्। यिनै विशेषताहरुसँग तपाईंहरु घुलमेल हुनुस्,’  जनार्दनको निर्देशन उधृत गर्दै माओवादी केन्द्र बागमती प्रदेश प्रचार संयोजक पुष्प न्यौपानेले नेपालखबरसँग भने।

कर्णाली र सुदूरपश्चिममा इन्चार्ज बन्दा माओवादीलाई पहिलो बनाउन सफल जनार्दन पहिलो पटक बागमती प्रदेशको इन्चार्ज बनेका हुन्। २०६४ मा माओवादीलाई यही उपत्यकाले बलियो साथ दिएको थियो। तर, त्यसपछिको चुनावमा क्रमैसँग माओवादी कमजोर बन्दै गयो।

त्यही भएर संगठन निर्माण र परिचालनलाई उनले मुख्य जोड दिएका छन्। उपत्यकाका जनतासँग विशेष सम्बन्ध बनाउन उनले नेताहरुलाई सुझाव दिए। 

‘उपत्यकाबासीसँग सहज र सौहार्द संवाद एवम् सम्बन्धको सुरुवात नगरी यहाँ पार्टी फस्टाउन सक्दैन,’ उनले विश्लेषण सुनाए ‘एक पटक हामीलाई साथ दिएको काठमाडौंलाई हामीले पुनः विश्वासमा लिनुको विकल्प छैन। यो कुरालाई तपाईंहरुले गम्भीरतापूर्वक लिनैपर्छ,–मलाई सिकाउनुस्, म काठमाडौँ सिक्न आएको छु।’

पार्टी बैठकमा इतिहासका जानकार वा विद्यार्थीहरुको उनले खोजी गरे। 

‘तपाईंहरु कोही काठमाडौं उपत्यका, यहाँको इतिहासबारे जानकार हुनुहुन्छ भने मलाई समय दिनु होला काठमाडौंको इतिहासबारे मलाई ‘क्लास’ लिनुपर्ने छ, नेताले सबै जानेको हुँदैन उसले पनि विषय विज्ञबाट सिक्नुपर्छ,’ उनले भने। 

माओवादीले भदौको १६ गतेबाट ७५३ वटै पालिका र सबै वडामा रुपान्तरण अभियान गर्दैछ। त्यही अभियानबाट माओवादी केन्द्रलाई रुपान्तरणसहित नयाँ पार्टी बनाउने नेताहरु दाबी गर्छन्। 

बागमती प्रदेशका अरु दश जिल्लाभन्दा उपत्यका निकै कमजोर अवस्थामा पुगेको भएरै जनार्दनले यहाँ नयाँ रणनीति बनाउन खोजेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .