ad ad

राजनीति


गोकुल बास्कोटा भन्छन् : २३ क्विन्टल सुन बाहिर पठाएर एक क्विन्टल समातियो, त्यो पनि ६० केजी भयो

गोकुल बास्कोटा भन्छन् : २३ क्विन्टल सुन बाहिर पठाएर एक क्विन्टल समातियो, त्यो पनि ६० केजी भयो

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १८:३२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले साउन ३ गतेको सुन तस्करी प्रकरणमा छानबिन आयोग रंगमञ्च उठेपछि आएको भन्दै कटाक्ष गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा उनले विभिन्न देशबाट तस्करी गरेर त्रिभुवन विमानस्थल हुँदै भित्र्याइएको २३ क्विन्टल सुन बाहिर (अन्य देश) पठाइएको आरोप पनि सरकारमाथि लगाए। 

‘आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयौ जस्तो भयो। हामीले प्राप्त गरेका सूचनामा करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो। बल्ल एक क्विन्टल सुन समातियो’, उनले भने, ‘त्यो पनि जोख्दा ६० केजी मात्रै भयो क्यारे!’

उनले दलहरुको निर्णयअनुसार बनाइने भनिएको आयोगको प्रतिक्षामा आफू रहेको पनि बताएका छन्। आयोगले ल्याउने तथ्यलाई स्वीकार्न आफू तयार रहेको पनि उनले बताए। बास्कोटाले आयोग गठन हुनुपर्ने माग गरेर एमालेले कसैको कुर्सी हल्लाउन नचाहेको पनि बताएका छन्।

उनले लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजिँदा संसद नचलेको पनि बताए। उनले स्टन्ट बन्द गरेर सुन तस्करी र ललिता निवासको सत्यतथ्य बाहिर ल्याउन सरकारलाई चुनौती पनि दिएका छन्। 

बास्कोटाले जनयुद्धको समयमा पूर्वमा हल्ला गरेर माओवादीले पश्चिम हानेको बताउँदै पशुपतिमा सुनको जलहरी र ३३ किलो सुनको हल्ला संसदमा चलाएर एयरपोर्टबाट तस्करीको अनेकौँ क्विन्टल सुन छिराएर बाहिर पठाएको दाबी गरे। 

बास्कोटाले त्यसक्रममा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाल र नेपाली कांग्रेसका रामहरि खतिवडाहरुप्रति लक्षित गर्दै जथाभावी नबोल्न पनि चेतावनी दिए। उनले उनीहरुले नामै तोकेर नेता थुन्छौँ भनेको तर्फ लक्षित गर्दै अहिलेसम्मका सबै फाइल खोलेर देखाउन पनि आग्रह गरे। 

बास्कोटाले सत्तामा रहेकाहरुले स्टन्टबाजी भन्दा जरैसम्म पुगेर अनुसन्धान गर्नुपर्ने पनि बताए। उनले सत्ताको आडमा धम्कीपूर्ण भाषा प्रयोग नगर्न पनि सत्तारुढ दलका सांसदहरुलाई चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .