ad ad

राजनीति


मनका ‘छाउगोठ’ भत्काउन मन्त्री गुरुङ सुदूरपश्चिमका गाउँमा

मनका ‘छाउगोठ’ भत्काउन मन्त्री गुरुङ सुदूरपश्चिमका गाउँमा

नेपालखबर
माघ ८, २०७६ बुधबार ६:२२,

महिला महिनावारी हुँदा घर छाडेर छाउगोठमा बस्नुपर्ने कुरीति छाउपडी प्रथा अन्त्यका लागि सरकार सशक्त भएर लागेको छ।

छाउपडी प्रथाले ग्रस्त कर्णाली र सुदूरपश्चिम प्रदेशका गाउँगाउँमा अहिले छाउगोठ भत्काउने अभियान तीव्र पारिएको हो।

त्यहाँका प्रदेश सरकारले यतिबेला आफ्ना जिल्लाका गाउँगाउँमा प्रहरी प्रशासन खटाएर छाउगोठ भत्काइरहेका छन्।

तर पनि त्यस क्षेत्रका मानिसको मानसिकताबाट ‘छाउगोठ’ हट्न नसक्दा त्यहाँका महिला महिनावारीका बेला भत्केकै छाउगोठमा भए पनि बस्न छाडेका छैनन्।

a chhaupadi

यही अन्धविश्वास हटाउन संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ यतिबेला कर्णाली र सुदूरपश्चिमका गाउँगाउँमा पुगेका छन्। प्रतिनिधि सभाका सदस्यहरूसहित मन्त्री गुरुङ स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा पुगेका हुन्।

यस क्रममा मन्त्री गुरुङको टोलीले दैलेखको दुल्लुमा बृहत् छलफल सम्पन्न गरेको छ। डोटीको दिपायल हुँदै अछामको मंगलसेनमा बृहत् छलफल गरेपछि मंगलबार मन्त्री गुरुङसहितको टोली दैलेखको दुल्लु पुगेको हो।

दैलेखमा अहिलेसम्म ३ सयभन्दा बढी छाउगोठ भत्काइसकिएको छ। तर कतिपय महिला महिनावारीका बेला पशुचौपाया बाँध्ने गोठमा जान थालेको भन्ने कुरा बाहिर आउन थालेपछि मनको छाउगोठ भत्काउने अभियानमा आफूसहितको टोली स्थलगत अध्ययनमा हिँडेको मन्त्री गुरुङले बताए।

‘कतिपय स्थानमा छाउगोठ भत्किसकेका छन्, अभियान जारी छ, यति हुँदाहुँदै पनि स्थानीय नागरिकभित्र रहेको मनका छाउगोठ भत्काउन सरकारले चेतनामूलक कार्यक्रम सुरु गरेको हो,’ मन्त्री गुरुङले भने, ‘यो अभियानमा स्थानीय जनप्रतिनिधिहरू अग्रसर हुन आवश्यक छ।’

मन्त्री गुरुङले यो अभियान सँगसँगै छाउगोठ राख्नेलाई कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन्।

‘केन्द्र सरकारले छाउगोठ राख्ने कुप्रथा अन्त्यका लागि अभियान सुरु गरेको छ,’ मन्त्री गुरुङले भने, ‘अब प्रदेश र स्थानीय सरकारले पनि अभियानकै रूपमा मनको छाउगोठ भत्काउन लाग्नुपर्छ।’

छाउगोठ भत्केपछि जनताले कसरी लिएका छन् भनेर अध्ययनका लागि स्थलगत अभियानमा हिँडिएको उनले बताए।

मन्त्री गुरुङ नेतृत्वको टोलीले छाउपडीजस्ता सामाजिक कुरीति अन्त्यका लागि थप के गर्न सकिन्छ भन्नेबारेमा दैलेखका जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, अभियन्ताहरूसँग अन्तरक्रिया गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली र सुदूरपश्चिममा छाउगोठमा बसेकै कारण महिलाले अकालमै ज्यान गुमाउनुपर्ने दर्दनाक अवस्था अन्त्यका लागि मन्त्रीसहितको टोलीले स्थानीय अगुवा, बुद्धिजीवी, विद्यार्थी, महिलासँग छलफल गरिरहेको बताए।

प्रतिनिधिसभाका सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले दैलेख अबको ६ महिनाभित्र छाउगोठमुक्त जिल्ला बनाउने गरी लागिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .