ad ad

राजनीति


माधव नेपालको नयाँ प्रतिवेदन : नाम नलिई अमेरिकाको आलोचना, रुस र चीनबारे के भने?

माधव नेपालको नयाँ प्रतिवेदन : नाम नलिई अमेरिकाको आलोचना, रुस र चीनबारे के भने?

नेपालखबर
भदौ ५, २०८० मंगलबार १७:९, काठमाडौँ

सोमबारदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले ३९ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन्। अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रिय राजनीतिका अलावा अन्तर्राष्ट्रिय राजनीति र भूराजनीतिका विषयमा पनि समेत पर्याप्त चर्चा गरेका छन्। 

अध्यक्ष नेपालले पेस गरेको प्रतिवेदनमा मानव जातिले बेहोर्नु परेका संकटहरुको दोषी साम्राज्यवाद र पुँजीवाद रहेको उल्लेख गरिएको छ। तर, विश्व साम्राज्यवादको नेतृत्व कसले गरेको छ, त्यसबारे भने प्रतिवेदनमा उल्लेख छैन। अधिकांश कम्युनिस्टहरुले विश्व साम्राज्यवादको नेतृत्व अमेरिको गरेको बताउने गरेका छन्। 

यसरी अमेरिकाको नाम नलिई साम्राज्यवादको आलोचना गरेका अध्यक्ष नेपालले प्रतिवेदनमार्फत् चीनलाई समाजवादी मुुलुकको रुपमा व्याख्या गरेका छन्। र, ‘समाजवादी चीन’ ले साम्राज्यवादलाई चुनौती दिइरहेको उल्लेख गरेका छन्। युक्रेनमाथि रुसी आक्रमणको मुख्य कारक पश्चिमा मुलुक भएको ठहर पनि उनले गरेका छन्। 

अमेरिकाको अप्रत्यक्ष आलोचना 
‘साम्राज्यवादकै कारणले आजको अन्तर्राष्ट्रिय परिस्थिति तनावपूर्ण छ, शीतयुद्धको समाप्तिपछि एकछत्र ठानिएको विश्व पुँजीवादी साम्राज्यवादले आफ्नै आन्तरिक आर्थिक सङ्कटहरूलाई व्यवस्थापन गर्न सकेन,’ नेपालले प्रतिवेदनमा भनेका छन्, ‘फलतः विश्व प्रभुत्वको लगाम कमजोर हुँदै गएको छ।’

‘अर्कोतिर आर्थिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा समाजवादी चीनले गरेको योजनाबद्ध विकास र अन्तर्राष्ट्रिय सहयोगले विश्वका कैयौँ मुलुकहरूका लागि नयाँ सम्भावनाका ढोका खुल्दै गएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘अर्थात्, चीनको उदयले पश्चिमी मुलुकहरूको प्रभुत्वमा आधारित विश्व व्यवस्था हल्लिन थालेको छ र अहिले साम्राज्यवाद हडबडाएको छ।’ 

चीनको प्रभावलाई रोक्न इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अघि सारेको अमेरिकाले हो। ‘आईपीएस’ बारे प्रतिवेदनमा उल्लेख भएपनि यस सन्दर्भमा अमेरिकाको नाम भने उल्लेख गरिएको छैन। बरु साम्राज्यवादले नै ‘आईपीएस’ अघि सारेको बताइएको छ। 

‘चीनको उदयलाई रोक्न त्यस (साम्राज्यवाद) ले इन्डो—प्यासिफिक रणनीति (आईपीएस) बनाएको छ, ‘क्वाड’, ‘अकस’ जस्ता गठबन्धन बनाएको छ,’ नेपालको प्रतिवेदन भन्छ, ‘एमसीसीजस्ता संयन्त्रहरूलाई समेत पुनः परिभाषित गर्दैछ; ताइवानमा तनाव बढाउँदै छ, भारतलगायत यस क्षेत्रका अन्य देशहरूलाई नजिक्याउँदै छ र जसरी हुन्छ, चीनको उदयलाई रोक्ने प्रयास गर्दैछ।’ 

मेरिल्यान्डस्थित अमेरिकी सेनाको बेस क्याम्पसमा गत शुक्रबार (अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिदेशीय बैठक भएको थियो। जसको उद्देश्य इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ प्रभाव रोक्नु थियो। अध्यक्ष नेपालको प्रतिवेदनमा सो त्रिदेशीय बैठकको चर्चा गर्दै बैठकको निर्णयले एसियाली क्षेत्रमा थप तनाव बढाउने चिन्ता प्रकट गरिएको छ।  

‘(सो) त्रिपक्षीय रणनीतिक साझेदारीको घोषणाले एसिया विश्वव्यापी तनावको मुख्य क्षेत्र बन्दै गएको छ,’ अध्यक्ष नेपालको प्रतिवेदन भन्छ, ‘यसबाट यस क्षेत्रका मुलुक र जनतामा गहिरो हलचल र ध्रुवीकरणका सम्भावना बढेर गएका छन्।’ 

रुसको बचाउ, चीनको प्रशंसा 
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा रुस–युक्रेन युद्धबारे पनि संक्षिप्त चर्चा छ। युक्रेनमाथि रुसी आक्रमणको कारक उनले पश्चिमी मुलुकको रुस विरोधी गतिविधिलाई ठानेका छन्।  

‘सोभियत सङ्घको विघटनपछि पश्चिमी मुलुकहरूले रुसलाई अपमानित गर्दै र घेर्दै युक्रेनविरुद्ध युद्धमा धकेलेका छन्,’ प्रतिवेदनमा उनी भन्छन्, ‘नेटोका सदस्य राष्ट्रको संख्या र प्रभाव विस्तार गर्दै सामरिक क्षमता बढाउने ध्याउन्नमा उनीहरूले युक्रेनलाई मोहोरा बनाएर युद्धमा धकेले।’ 

युक्रेनको सार्वभौमसत्ताको बहानामा अत्याधुनिक शस्त्रास्त्र युक्रेन पठाएर युद्धलाई अझ लम्ब्याउने प्रयास गरिरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले विश्वभरि नै युद्धजनित प्रभाव पर्दै गएको उल्लेख गरेका छन्। 

त्यस्तो प्रभावमा विश्वशान्ति र आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महंगी, विश्व व्यापारमा गिरावट, इन्धनको मूल्यमा वृद्धि, रोजगारीमा गिरावट, विश्वव्यापी आर्थिक मन्दीको सङ्कटको सम्भावना आदि रहेको उनले उल्लेख गरेका छन्।  

साम्राज्यवादी–पुँजीवादी राष्ट्रका उपरोक्त क्रियाकलापका बाबजुद चीनले गरेको प्रगतिको उनले प्रशंसा गरेका छन्। 

‘साम्राज्यवादी तथा पुँजीवादी शक्ति राष्ट्रको हस्तक्षेपकारी कार्यका बाबजुद चीनले समाजवाद निर्माणको कार्यदिशालाई अनवरत रूपमा अगाडि बढाइरहेको छ,’ अध्यक्ष नेपाल प्रतिवेदनमा भन्छन्, ‘राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले अर्थव्यवस्थालाई अझ बढी उत्पादक तथा जनमुखी बनाउन प्रयत्न गरिरहेको छ।’ 

चीनले ‘विकासशील राष्ट्रहरूसँग बहुपक्षीय र दुई पक्षीय सहयोग अभिवृद्धि गर्दै विश्व शक्ति सन्तुलनमा नयाँ गति दिन प्रयत्न गरिरहेको पनि उनले उल्लेख गरेका छन्। 

उनको भनाइमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), सांघाई कोअपरेशन फोरम, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) जस्ता चीनले अघि बढाएका अन्तर्राष्ट्रिय आर्थिक सहयोग र सममझदारीका कार्यक्रमलाई नेपालजस्तो मुलुकले आफ्नो जटिल र संवेदनशील भूराजनीतिक अवस्थाको हेक्का राख्दै अधिकतम रुपमा परिचालन गर्नुपर्छ।  ं

‘चीन अहिले अमेरिकी नेतृत्वको विश्व पुँजीवादी दुनियाँमाथि चुनौती खडा गरेको समाजवादी मुलुक हो, सम्पूर्ण पुँजीवादी दुनियाँ अहिले चीनको उदयलाई रोक्न आर्थिक, राजनीतिक, कूटनीतिक, सामरिक तथा जासुसी उपायहरू केन्द्रित गर्दैछन्,’ नेपाल भन्छन्, ‘सन् २०५० सम्म संसारको सबैभन्दा समृद्ध समाजवादको निर्माण गर्ने चीनको राष्ट्रिय सङ्कल्पले के कुरा स्पष्ट पार्छ भने नेपाल विश्व विचारधारात्मक द्वन्द्वको वरिपरि छ, रहनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .