ad ad

राजनीति


प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १८:२६, काठमाडौँ

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। 

‘पहिलादेखि नै वरिष्ठलाई नै सिफारिस गरिँदै आएको रहेछ। यसपालि पनि वरिष्ठताका आधारमा सिफारिस गरिएको हो,’ उपसभामुख रानाले नेपालखबरलाई जानकारी दिइन्।

न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो। तीमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि रहेका राउतको नाम संवैधानिक परिषद्ले छानेको हो।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।   

प्रधानमन्त्री ओलीले गएको बुधबार नै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए। बुधबार स्थगित भएको बैठक शुक्रबार बसेको थियो। त्यस दिन परिषदमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको हो।

आजको बैठकलाई सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। त्यसपछि न्यायपालिकाको नेतृत्व राउतले सम्हाल्ने गरी संवैधानिक परिषद्ले सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .