राजनीति


महराले भने– अनुसन्धानका लागि बोलाउन भनेको छु, जुनसुकै बेला तयार छु

चिनियाँलाई फलफूल व्यापारी भनेर चिनेको दाबी
महराले भने– अनुसन्धानका लागि बोलाउन भनेको छु, जुनसुकै बेला तयार छु

नेपालखबर
साउन ३०, २०८० मंगलबार १४:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भेप (इलेक्ट्रिक सिगरेट) मार्फत् सुन भित्र्याइएको विषयमा सरकारले गर्ने सबै अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको बताएका छन्। 

मंगलबार दाङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महराले जुनसुकै बेला बोलाए पनि आफू अनुसन्धानका लागि जान तयार रहेको बताए।

‘सुन प्रकरणमा मेरो नाम मुछिएपछि म सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु। अनुसन्धानका लागि बोलाउनुस् पनि भनेको छु। जुनबेला बोलाए पनि जान तयार छु,’ महराले भने।

साथै, उनले चिनियाँ नागरिक वाङसँग आफूले फलफूल व्यापारीको नाताले चिनेको दाबी गरेका छन्। 

‘यो सुन प्रकरणसँग सम्बन्धित घटना भनेको, एकजना वाङ भन्ने मान्छे चाइनिज हुन, १० १५ वर्षदेखि नेपालमा नै बस्छन्। उनलाई चिनजान भएको पनि त्यति नै भएको छ,’ महराले भने, ‘उनी फलफूल व्यापारी हुन्। म सँग टेलिफोन वार्ता पनि भएको होइन।’

भेपमार्फत् ल्याइएको नौ किलो सुन प्रकरणमा महराका बाबु छोरा संलग्न रहेको समाचारहरू आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले प्रश्न उठाएका छन्। 

सरकारले आफ्ना मान्छेलाई जोगाउन खोजेको भन्दै महरालाई पनि अनुसन्धानमा तान्नुपर्ने उनीहरुको निश्कर्ष छ। महराले गत शनिबार नै प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर आफू अनुसन्धानका लागि आउन तयार रहेको बताएका थिए।

सो बारे माओवादी बैठक र सत्ता गठबन्धनको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइसकेका छन्।

पत्रकार सम्मेलनमा के भने महराले?
केही मिडियाहरुमा केहीदिनदेखि आयो। मैले वक्तव्य र सामाजिक सञ्जालबाट भनेँ। मेरो छोरापनि जोडिएको भनेर आयो। सरकार र गृहमन्त्रीको तर्फबाट पनि आयो। वृहत् पत्रकार सम्मेलन गरौं कि भन्ने पनि लाएको थियो हिजो गृहमन्त्रीको आएपछि त्यो गरिनँ।

यो सुन प्रकरणसँग सम्बन्धित घटना भनेको, एकजना वाङ भन्ने मान्छे चाइनिज हुन, १० १५ वर्षदेखि नेपालमा नै बस्छन्। उनलाई चिनजान भएको पनि त्यति नै भएको छ। 

उनी फलफूल व्यापारी हुन्। म सँग टेलिफोन वार्ता पनि भएको होइन। मसँग भेटेर उनका एकजना साथीले सुनको स पनि उच्चारण नगरी भेप (इलेक्ट्रिक सिगरेट) को सामान आएको छ भन्सारमा। मैले केही इलिगल सामान होला पनि भनेँ। त्यसपछि मैले भन्सारका साथिहरुसँग कुराकानी गरेर लिगल छ भने कानुन अनुसार काम गर्नुहोला भनेको थिएँ। 

बाहिर मिडियामा चाहीँ टेलिफोन भएको भन्ने छ। मेरो त भएको होइन। यदी छोराले गरेको हो भने पनि सुनको स पनि उच्चारण भएको छैन। म विगतमा जेलमा परेको बेलामा जेलमै भएका एकजना साथी अधिकृत थिए उनीसँग मेरो कुरा भइरहन्थ्यो। भएको के हो भनेपछि छाड्नपर्ने हो भने छाड्नु नभए कानुन अनुसार गर्नु भनेको मात्र थिएँ। यसैको आधार बनाएर न्युजहरु आए। 

मैले वक्तव्य दिँदा राजनीतिक कदम बन्यो कि भन्ने पनि छ। मेरो निशाना कुनै शक्तिप्रति केन्द्रीत छ। यो प्रकरणमा एउटा दलले सत्तापक्षका मान्छे पनि संलग्न छन् भने आशंका गरेका हुन्। 

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र मलाई राजीनामा दिन भनिरहेको छ। यो जोड्नपर्ने कुनै कारण छैन। बेकारमा किन जोडिएको छ भनेर म आफैं अचम्ममा छु।

मलाई लाग्ने चाहीँ के छ भने, म एग्रेसिभ मान्छे होइन, सन्तुलन खोज्ने मान्छे हो। सबै वामपन्थी, माओवादी र राष्ट्रिय शक्तिहरु एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना राख्ने व्यक्ति हुँ। 

सुन प्रकरणमा मेरो नाम मुछिएपछि म सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु। अनुसन्धानका लागि बोलाउनुस् पनि भनेको छु। जुनबेला बोलाए पनि जान तयार छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .