राजनीति


महराबारे सत्ता गठबन्धनमा उठ्यो प्रश्न, गृहमन्त्रीले भने- अनुसन्धान हुँदैछ

महराबारे सत्ता गठबन्धनमा उठ्यो प्रश्न, गृहमन्त्रीले भने- अनुसन्धान हुँदैछ

नेपालखबर
साउन २९, २०८० सोमबार १९:५९, काठमाडौँ

भेप (इलेक्ट्रिक सिगरेट) मार्फत् नेपाल सुन भित्र्याउने नाम जोडिएका सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको विषयले सत्ता गठबन्धनमा पनि प्रवेश पाएको छ। 

सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा महराको विषयमा केहीबेर छलफल भएको थियो। 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार सो विषयमा अहिले अनुसन्धान भइरहेकोले तत्कालै सबै कुरा भन्न नसकिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए। 

‘सुनकाण्डमा महराजीहरुको नाम चलिरहेको छ। के हो वास्तविकता भनेर हामीले सोध्यौं,’ उपाध्यक्ष पाण्डेले नेपालखबरसँग भने, ‘अनुसन्धान चलिरहेको अनुसन्धानको कुरा अहिले भर्खरै भन्न सकिँदैन भन्नुभयो। त्यसपछि अरु कुरा भएन।’

महराले आइतबार मात्रै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिन जाने बताएका थिए। 

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा पनि यो विषय उठेको थियो।

प्रधानमन्त्री प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले माओवादीका नेताहरूलाई कारबाही नगरी अन्य दलतर्फ मात्र सरकार केन्द्रीत भएको आरोप लगाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .