राजनीति


एमालेमा विद्या भण्डारीको खोजी, तर रोक्न चाहन्छन् अध्यक्ष ओली

एमालेमा विद्या भण्डारीको खोजी, तर रोक्न चाहन्छन् अध्यक्ष ओली

बूढानीलकण्ठस्थति निवासमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेका नेता–कार्यकर्तासँग भेट तीब्र बनाएकी छन्


सागर न्यौपाने
साउन २९, २०८० सोमबार २१:५१, काठमाडौँ

सुन तस्करीदेखि नक्कली शैक्षिक प्रमाणपत्रसम्म सरकारले एकपछि अर्काे प्रकरणविरुद्ध कठोर कदम चालिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अकस्मात् आइतबार विशेष पत्रकार सम्मेलन आयोजना गरे। 

तीन सातादेखि संसद् अवरुद्ध गरिरहेको एमालेको पत्रकार सम्मेलन भएकाले स्वाभाविक रूपमा त्यसप्रति धेरैलाई चासो लागेको थियो।

त्यही कारण निरन्तर वर्षाका बीच पनि एमालेको केन्द्रीय कार्यालय (च्यासल, ललितपुर) एमाले नेता र सञ्चारकर्मीले खचाखच थियो। 

जनताको आवाज उठाउने थलो संसद्‌ चल्न नदिइरहेको एमालेका अध्यक्ष ओलीले केही न केही नयाँ कुरा खुलासा गर्ने अपेक्षा हुने नै भयो। 

यसअघि कार्यक्रममा प्राय: ढिला गरेर पुग्ने ओली त्यस दिन भने निर्धारित समय दिउँसो १ नबज्दै पत्रकार सम्मेलनस्थल आइपुगेका थिए। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठलगायत केही स्थायी कमिटी सदस्य पनि पार्टी कार्यालयमा भेला भए। 

त्यसपछि एमाले केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पार्टीका तर्फबाट प्रेस विज्ञप्ति पढ्दै अध्यक्ष ओलीसँग प्रश्न राख्न पत्रकारका लागि ‘फ्लोर ओपन’ गरे।

पत्रकारले बाहिर चर्चामा आएका प्रकरण र संसद् अवरोधसँग सम्बन्धित प्रश्न राखे। जसबाट एमाले अध्यक्ष आक्रामक भए। र, अर्थतन्त्र डामाडोल भएको दाबी गर्दै सरकारले महातस्करी काण्ड मच्चाएको आरोप लगाए। 

यसरी अब मुलुक अघि बढ्न नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

‘वास्तवमा भन्ने हो भने यति नालायक, यति भ्रष्ट सरकार चलाएर बस्छु भन्दा राजीनामा दिनुपर्थ्यो’, ओलीले आक्रोश पोख्दै भने, ‘बानी परेपछि घिन लाग्दैन।’

सरकार तथा मन्त्रीप्रति कडा रुपमा प्रस्तुत भएका ओलीलाई पत्रकारले उनकै पार्टीसँग सम्बन्धित अर्थात् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुन: पार्टीगत राजनीतिमा सक्रिय हुन लागेकाे र यस क्रममा उनीसँग एमालेका केही नेताले भेटवार्ता गरेकोबारे प्रश्न गरे।

जवाफमा उनले पूर्वराष्ट्रपति भण्डारी एमालेमै फर्किएर राजनीति गर्न लागेको हल्ला चलाएर पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको टिप्पणी गरे। 

दुई कार्यकाल राष्ट्रपति पदमा रहेर झन्डै साढे ७ वर्ष शीतल निवासमा बिताएकी भण्डारी यतिबेला बूढानीलकण्ठस्थित निजी निवासमा बसेर एमालेका नेताहरुलाई भेटिरहेकी छन्, राजनीति र एमाले पार्टीबारे अध्ययन गरिरहेकी छन्।

र, पनि अहिलेसम्म उनले सक्रिय राजनीतिमा फर्किने कुरा भने प्रस्ट पारिसकेकी छैनन्। 

तर बूढानीलकण्ठस्थित भण्डारी निवासमा एमाले नेताहरुसँगको बाक्लो भेटवार्ताले उनी राजनीतिमा ‘कमब्याक’ हुन लागेको अनुमान भइरहेको छ। 

यद्यपि एमाले अध्यक्ष ओलीले एमाले नेताहरुले पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ उनलाई सक्रिय राजनीतिमा आउन निम्ता नभएको जिकिर गरे तर सँगसँगै उनले आफूले पनि भण्डारीलाई पटकपटक भेटेको खुलासा गरे। 

‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ’, ओलीले पत्रकार सम्मेलनमा भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो। हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो।’

‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन, विष्णु पौडेलजीले मात्रै होइन, मैले पनि कुरा गरेको छु। अरुले पनि कुरा गर्नुभएको छ।’

भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरा सम्भव नभएको जिद्दी ओलीले गरिरहे।

‘यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्न भन्ने खालको। यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ’, पत्रकार सम्मेलनमा उनले भने।

एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको दाबी गर्दै ओलीले अहिले चलाइएको हल्लाले केही प्रभाव नपर्ने टिप्पणी गरे। 

‘कसले पो भन्यो अरे- ओली रहने हो भने पार्टी टुक्राटुक्रा हुन्छ भनेर! यस्ता हल्लाका पछाडि, दुनियाँ लाग्दाखेरि एमालेलाई सकेन, अब कसले भन्या कुरा’, उनले भने। 

अध्यक्ष ओलीले यसरी अस्वीकार गरे पनि पार्टीभित्र विद्या भण्डारीको खोजी हुन थालेको स्वयं एमाले नेताहरु बताउँछन्।

नेपालखबरसँग कुरा गर्दै एमालेका केही पदाधिकारीले पार्टीलाई एकताबद्ध गर्न भण्डारी साझा व्यक्ति भएको दाबी गरे।

‘विद्या भण्डारी साझा व्यक्तित्व भन्ने धेरै नेताहरुलाई लागेको छ’, एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अहिले कम्युनिस्टभित्र समस्या छ, पार्टी एकताबद्ध गर्न पनि सक्ने, उपयुक्त अहिलेसम्म उहाँजति अरु छैनन्।’

‘उहाँलाई फेरि राजनीतिमा फर्काउनपर्छ भन्ने साथीहरुको मत सशक्त छ, केही नेताहरु लागिरहनुभएको छ।’ 

अर्का नेताले भण्डारीले पार्टी नेतृत्व गरे माधवकुमार नेपालसमेत एमालेमा फर्किने सम्भावना रहेको दाबी गरे। 

‘उहाँले केपी ओलीलाई पो मुख्य शत्रु मान्नुहुन्छ र मिल्न मान्नुहुन्न, अरु त हुन्छ भनेर माधवजी मान्न तयार हुनुहुन्थ्यो’, ती नेताले भने।

‘पदाधिकारीलगायतका पार्टीका अधिकांश नेताहरुले विद्या भण्डारी उपयुक्त व्यक्तित्व भनिरहनुभएको छ’, ती नेताले थपे, ‘अहिले त नेताहरुलाई डर होला, सिधै भन्नुभएको छैन, तर धेरै ठूलो जनमत भण्डारीका पक्षमा उभिन सुरु भइसकेको छ।’

भण्डारी झन् झन् सक्रिय
राष्टपति पदको अवधि २०७९ फागुन २८ गते सकिएयता भण्डारी बूढानीलकण्ठस्थति निजी निवासमा बसिरहेकी छन्। यस क्रममा उनले उनले सामाजिक र राजनीतिक भेटघाट तीव्र बनाएकी छन्।

गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथि बनेकी उनले राजनीतिक भाषण गर्दै भनिन, ‘नेपाली क्रान्तिको अभिभारा पूरा भएको छैन।’

२०७१ कात्तिक ११ मा राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन्।

२०५१ देखि संसदीय राजनीतिमा प्रवेश गरेकी भण्डारी २०५४ को छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य, त्यसपछि दुईपटक उपाध्यक्ष बनिन्। सक्रिय राजनीतिको दौरान भण्डारी पटकपटक मन्त्री भइन्। 

त्यसो त भण्डारीका तत्कालीन केही सहकर्मी नेता अहिले पनि साथमै छन्। विगतमा उनले बलियो ढंगले नेतृत्वमा ल्याएका नेताहरुको जोड भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ भन्नेमा देखिन्छ।

तर, ओलीको अभिव्यक्तिले त्यसलाई रोक्ने प्रस्ट सन्देश दिइरहेको छ।

आइतबारको पत्रकार सम्मेलनमा उनले भण्डारीको नाम चर्चामा ल्याएर समस्यामा पार्ने कोसिस भएको तर्क गरे। 

एमालेमा अहिले सदस्यता नवीकरण गर्ने संख्या घटेको छ, पार्टी प्रतिपक्षमा छ। संगठनप्रति एमाले कार्यकर्ताको रुचि घटेको कारण देखाउँदै भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन नेताहरुले जोडबल गरिहरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .