ad ad

राजनीति


कांग्रेस बैठकमा शेखरको माग : सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति चाहिन्छ

कांग्रेस बैठकमा शेखरको माग : सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति चाहिन्छ

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १६:५२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिने बताएका छन्। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा उच्चस्तरीय समिति माग गर्दै तीन सातायता संसद् अवरुद्ध गरिरहेका बेला सत्तारुढ दलकै नेताले यस्तो बताएका हु्न्।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले केन्द्रीय अनुसन्धान ब्यूरो र राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेका बेला उच्चस्तरीय समिति नचाहिने बताइरहेका छन्।

आइतबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकारका उच्च तहको नेतृत्व संलग्न रहेकाले सीआईबी र राजस्वले मन्त्रीलाई बयानमा ल्याउन नसक्ने बताउँदै उच्चस्तरीय समितिको पक्षमा वकालत गरेका थिए। 

यस्तोमा कोइरालाले पनि ओलीको बोलीमा साथ दिँदै उच्चस्तरीय समितिले मात्रै उक्त प्रकरणलाई टुंगोमा पुर्‍याउन सक्ने बताएका हुन्। 

संसदीय दलको बैठकका क्रममा कोइरालाले नेपालको त्रिभुवन विमानस्थल सुन तस्करहरुको अखडा नै बनिसकेको बताउँदै उच्चस्तरीय समितिले मात्रै सबै कुरा खोज्न सक्ने उल्लेख गरे।

‘सुन तस्करी प्रकरणलाई हामीले गम्भीर रुपमा लिनुपर्छ, सोच्नुपर्छ। प्रधानमन्त्रीको निजी सचिवलाई राजस्व अनुसन्धान विभागको प्रमुख बनाएर पठाएको सात दिनमै एक क्विन्टल सुन समातिएको छ। सुन समातिएपछि सीआईबीलाई अनुसन्धानको जिम्मेवारी दिन पनि आलटाल गरियो’, उनले भने, ‘अहिले अनुसन्धान झन् गिजोलिएको छ। त्रिभुवन विमानस्थल सुन तस्करको अखडा भइसकेको छ। नेपालको बदनामी रोक्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ। त्यसो भएमा यसको जरोसम्म पुग्न सकिन्छ। कांग्रेसले यसबारे गम्भीरतापूर्वक सोच्नु ढिला नगरौँ।’

सुन तस्करी प्रकरणमा यसअघि शेखरनिकट सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै उच्चस्तरीय समिति चाहिने बताएका थिए।

तर कांग्रेसको संस्थापन पक्ष अहिले पनि उक्त प्रकरणमा सीआईबीले नै अनुसन्धान गर्नुपर्ने अडानमा छ। आइतबार मात्रै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उच्चस्तरीय समिति अहिले नै आवश्यक नरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .