सत्तारुढ नेपाली कांग्रेसले आज (आइतबार) संसदीय दलको बैठक राख्ने भएको छ।
बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो साढे १२ बजे सुरु गर्ने तयारी रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि कांग्रेस संसदीय दलको बैठक गत शुक्रबार बसेको थियो। बैठकमा सांसदहरूले आआफ्ना धारणा राखेका थिए।
‘धारणा राख्ने क्रम नसकिएकाले आज पनि संसदीय दलको बैठक राख्न लागिएको हो’, मुख्य सचिव पौडेलले भने।
उनका अनुसार बैठकका एजेन्डामा पहिलेकै विषय अर्थात् नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेर रिहा भएका सांसद सुनिल शर्मालगायत नै छन्।
नक्कली सर्टिफिकेट प्रकरणमा गत बिहीबार पक्राउ परेका सांसद शर्मा जिल्ला अदालत काठमाडौंको आदेशमा शुक्रबार साँझ रिहा भइसकेका छन्।
कांग्रेस संसदीय दलको बैठकका अन्य एजेन्डामा संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आव २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र संसद्मा पार्टी (कांग्रेस) को प्रभावकारी भूमिका छन्। यस्तै बाढी, पहिरोपीडितलाई राहत, उद्धर तथा पुनःस्थापना, पशु चौपायामा फैलिएको लम्पी स्किन रोग रोकथाम र किसानलाई राहत, डेंगी, आँखा पाक्ने रोगको रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषयमा पनि कांग्रेस संसदीय दलमा छलफल भइरहेको जनाइएको छ। यिनै विषयमा सांसदहरूले धारणा राखिरहेका छन्।
Shares

प्रतिक्रिया