नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति सुरु गरेको टिप्पणी गरेका छन्। शनिबार गुरु लुँइटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले तर्साउन खोजेको पनि बताए।
‘यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन। यो अलि पाकिस्तानी प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नुभएको छ। यो राजनीति यहीँ अन्त्य हुँदैन। यो सुरु भयो। यसको अन्त्य यहीँ हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु।’
उनले लोकतन्त्र विरोधी र आन्दोलनमा कहीँकतै देखा नपरेका तत्वहरूले अहिलेको सरकार चलाइरहेको ओलीको आरोप छ।
‘खासगरी सत्तामा लोकतन्त्रविरोधी तत्वहरूको बोलवाला छ, आन्दोलनमा कतै देखा नपरेका तत्वहरूले शासन चलाइरहेका छन्,’ ओलीले भने।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारले केही बोलेकै भरमा युवा हुने बेलाको मुद्दा बूढेसकाल हुँदा झिकेको जिकिर गरे।
‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा युवा हुँदा परेको मुद्दा बूढो हुँदा निकालेको छ। मान्छे बूढो हुन थालिसक्यो युवा हुँदा पढेको आइएस्सीको सर्टिफिकेटको मामला निकालेर, त्यो छानबिन गरे हुन्थ्यो हतकडी लगाएर,’ ओलीले अघि भने, ‘एउटा सांसद भागेर जान्छ कि, सुनिल शर्मा भनेको मेडिकल कलेज चलाएर बसेको मान्छे, भागिहाल्दैन होला। कुनै गृहमन्त्रीको नाम सुन्दा भागिहाल्दैन होला। पहिला हतकडी लगाएर खोरमा थुनेर अनि छानबिन गर्ने?’
लोकतन्त्रको पक्षमा आवाज उठाउनेविरुद्ध सरकारले डन्डा चलाउने काम गरेको ओलीको आरोप छ।
‘दोषी छ भने थुन्ने कि दोषी नभए पनि थुन्ने। यो देशको शासनमा बस्ने केही मान्छेहरुको कुनै योगदान छैन,’ ओलीले भने, ‘अनि अहिले आएर लोकतन्त्रको पक्षमा बोल्न खोज्नेहरुलाई अहिले आएर लोकतन्त्रको पक्षमा आवाज चलाउनेलाई डन्डा चलाउने? त्रासको एउटा वातावरण बनाउन खोज्ने?’
उनले कांग्रेस सांसद सुनिल शर्मा पक्राउ पर्नु देख्नलाई सामान्य भएपनि सामान्य विषय नभएको आरोप लगाए।
‘यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन। यो अलि पाकिस्तानी प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नुभएको छ। यो राजनीति यहीँ अन्त्य हुँदैन,’ ओलीले भने, ‘यो सुरु भयो। यसको अन्त्य हुँदैन। धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु।’
सरकार अधिनायकवादी भएर चल्न खोजेको ओलीको आरोप छ।
Shares

प्रतिक्रिया