राजनीति


राप्रपाका नयाँ उपाध्यक्ष राजभण्डारीलाई कसले लगाइदियो श्रीपेच?

राप्रपाका नयाँ उपाध्यक्ष राजभण्डारीलाई कसले लगाइदियो श्रीपेच?

राप्रपा उपाध्यक्ष दिलविकास राजभण्डारी


नेपालखबर
साउन २५, २०८० बिहिबार १३:५९, काठमाडौँ

केही महिना कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) मा सक्रिय भएका दिलविकास राजभण्डारी फेरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामै फर्किएका छन्।

उनलाई अध्यक्ष लिङ्देनले असार २५ गतेको मितिबाट लागु हुने गरी पार्टीको उपाध्यक्षमा मनोनयन गरिसकेका छन्।

राजभण्डारीले नै दिएको धुम्बाराहीस्थित जग्गामा अहिले राप्रपाको केन्द्रीय कार्यालय बनेको छ। तर बिजुलीको हाइटेन्सन लाइनमुनि बनेको कार्यालय काठमाडौं महानगरपालिकाले भत्काउने तयारी गरिसकेको छ।

कहिले राप्रपा त कहिले राप्रपा नेपाल ओहोरदोहोर गरिरहेका राजभण्डारीको श्रीपेचसहितको फोटोले अहिले चर्चा कमाइरहेको छ। नेपालमा शाह वंशीय राजाहरु र तत्कालीन अवस्थामा राणा शासकहरुले श्रीपेच लाउने गरेका थिए। 

राप्रपाको नवौँ उपाध्यक्षमा मनोनीत भइसकेका राजभण्डारीले श्रीपेच लगाएको तस्बिरलाई लिएर पार्टीभित्र र बाहिर पनि अनेक कोणबाट चर्चा भइरहेको छ।

तर भण्डारी आफैंले भने उक्त तस्बिर आफूले नखिचाएको बताएका छन्। 

‘अहिले म पार्टी कार्यालयमा पुगेको छु। खै कसले हो कुन्नि श्रीपेच लगाएको मेरो तस्बिर सार्वजनिक गरिदिएछ’, उनले नेपालखबरसँग भने, ‘त्यो तस्बिर कसरी सार्वजनिक भयो मलाई पनि थाहा छैन। राप्रपाको उपाध्यक्ष मनोनीत भएपछि श्रीपेंचवाला तस्बिर सार्वजनिक गरिदिए। यसको उद्देश्य के हो? मैले बुझ्न सकेको छैन।’

राजभण्डारीले उक्त तस्बिर आफूले खिचेको कुरा इन्कार गरे केही समयअघि साथीको घरमा खिचेको खुलेको छ।

राप्रपाका एक नेताकाअनुसार उनले पार्टीकै साथीको घरमा गएको समयमा उक्त तस्बिर खिचेका थिए। 

ठट्टैठट्टामा खिचेको उक्त तस्बिर राप्रपाकै नेताहरुमार्फत सामाजिक सञ्जालमा आइपुगेर भाइरल भएको ती नेताले बताएका छन्।

उनी आवद्ध राप्रपाले लामो समयदेखि शाह वंशीय राजतन्त्र फर्काउने वकालत गरिरहेको छ।

अहिले राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापा गृहमन्त्री हुँदा नै नेपालबाट २०६२/६३ मा शाहवंशीय राजतन्त्र ढलेको थियो।

शाहवंशीय राजतन्त्र फर्काउने पक्षमा अहिले दुवै राप्रपा देखिएका छन्। कमल थापा पनि केही समय उक्त अडानबाट हटेर फेरि राजतन्त्रकै पक्षमा फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad