राजनीति


गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र– देशभन्दा माथि विचार कसरी हुन्छ?

‘कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने तपाईं ‘राजनेता’ बन्नुहुनेछ’
गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र– देशभन्दा माथि विचार कसरी हुन्छ?

फाइल तस्बिर : रवीन्द्र मिश्र र गगन थापा


नेपालखबर
साउन २५, २०८० बिहिबार ११:१९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पेच परेको छ। 

यसैकारण मिश्रले बिहीबार बिहानै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री थापालाई विभिन्न प्रश्न गर्दै खुलापत्र लेखेका छन्।

मिश्र तिनै नेता हुन्– जसले विवेकशील साझा पार्टीको अध्यक्ष रहँदा ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याएकै कारण सो पार्टी छिन्नभिन्न भएको थियो। पछि उनी वरिष्ठ उपाध्यक्ष बन्दै राप्रपामा समाहित भए र राजा र राजतन्त्रको खुलेर वकालत गरिरहेका छन्।

उनले ‘विचारभन्दा माथि देश’लाई पुस्तककै रूप दिइसकेका छन्। कांग्रेस महामन्त्री थापाले आफ्नो त्यही अवधारणाविरुद्ध कटाक्ष गरेपछि मिश्रले खुलापत्रमार्फत जवाफ फर्काएका हुन्।

‘विचार व्यक्तिको हुन्छ– व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ– पार्टी समूहको हुन्छ। देश–सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउनुपर्छ’, मिश्रले खुलापत्रमार्फत गगनलाई प्रश्न गरेका छन्, ‘अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ?’

यस्तो छ पूरा पत्र– 

प्रिय गगनजी,
तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्नुभएको रहेछ। तपाईंप्रति मेरो धेरै सम्मान छ, तर थोरै विमति राख्नैपर्ने देखेर यो छोटो टिप्पणी गरेको छु।

विचार व्यक्तिको हुन्छ–व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ–पार्टी समूहको हुन्छ। देश–सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउनुपर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ?

जुन समयसम्म नेपाली कांग्रेसले देशलाई प्रधानता दियो, कांग्रेस ठीक ठाउँमा थियो। पहिले पनि भनेको/लेखेको छु, बीपी कोइराला वैचारिक रूपमा राजसंस्थावादी हुनै सक्दैन थिए, किनभने उनी उत्कृष्टता (meritocracy) मा विश्वास गर्दथे। उत्कृष्टताले ‘कर्मसिद्ध अधिकार’मा विश्वास गर्छ, जबकि राजसंस्था (monarchy) ले ‘जन्मसिद्ध अधिकार’मा विश्वास गर्छ। ती एकआपसमा बाझिने विचार हुन्। तर ती दुवै विचारभन्दा माथि माथि देश हुन्छ।

देशको भूराजनीतिक र आन्तरिक अवस्थालाई मनन गरेर वैचारिक रूपमा आफू राजसंस्थावादी नभए पनि बीपी कोइरालाले अत्यन्त कठिन घडीमा समेत आफ्नो विचारभन्दा माथि देशलाई राखे र त्यसैअनुरूप क्रियाशील रहे। त्यसैले उनी ‘राजनीतिकर्मी’ होइन, ‘राजनेता’ कहलिए।
तर जहाँबाट तपाईंलगायतका कतिपय कांग्रेसी नेताले जानीनजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो, त्यही बिन्दुबाट कांग्रेस र देश दुवैको अधोगति तीव्र भयो।

आज देश विश्व विख्यात् पत्रिका The Economist लगायत धेरैको आँखामा ‘Fragile (अति कमजोर) अथवा Failing (असफलता-उन्मुख) राज्य’ भएको छ। शब्द र आफ्नो अनुकूलता अनुरूपका तथ्याङ्कको लेप लगाएर मात्र यो डरलाग्दो अवस्था छोपिन सक्दैन। त्यसले देशको हित गर्दा पनि गर्दैन।

आज आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातीमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको छ। गरिहाल्यो भने पनि त्यसले कांग्रेसको पुरानो प्रतिष्ठा र गौरव फर्काउन नसक्ने अवस्थामा पुगेको छ।

कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईं नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईंले फाट्टफुट्ट केही राम्रा कामबाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न। त्यतिबेला ‘म देशको प्रधानमन्त्री भएँ’ भन्ने भावनालाई नै तपाईंले जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेर्नुपर्ने अवस्था आउनेछ।

प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो– त्यो आफैँमा उपलब्धि होइन। त्यसपछि तपाईंले ‘यो, यो कारणले मैले केही गर्न सकिनँ’ भनेर अन्तर्वार्ता दिँदै हिँड्नुपर्नेछ, जसरी अहिले ‘महामन्त्री भए पनि मैले यो, यो कारणले केही गर्न सकिनँ’ भन्दै औचित्य दर्शाउनुपर्ने स्थिति छ।

के कांग्रेसले विचार–प्रधान भएकै कारण सरकारी वेतनधारीको भ्रातृ संगठन चलाएको हो, जसले विद्यालय, विश्वविद्यालय, कर्मचारीतन्त्रदेखि सबै संस्थालाई ध्वस्त–ध्वस्त बनाइसकेको छ? समाजका पत्रपत्रलाई पतीत बनाइसकेको छ?

के कांग्रसले विचार–प्रधान भएकै कारण पेसाकर्मीहरूको भ्रातृ संगठन बनाएको हो, जसले गर्दा तपाईंहरूजस्ता सांसद वकिलको भ्रातृ संगठन बनाएर संसद्‌मा मच्चीमच्ची ‘न्यायलय राजनीतीकरण भयो’ भनेर विरोधाभाषपूर्ण भाषण गर्न बाध्य हुनुभएको छ?

के कांग्रेसले विचार–प्रधान भएकै कारण कांग्रेसका सांसदहरूले नीतिगत भ्रष्टाचारको एउटा ज्वलन्त नमुना ‘सांसद विकास कोष’ लिएको हो, जसमा संघ र प्रदेश दुवै गरेर वार्षिक रूपमा झण्डै रु १७ अर्ब खर्च हुन्छ? 

जबकि स्वास्थ्यमन्त्री भइसकेका कारण तपाईंलाई थाहा छ– देशमा सरकारी डाक्टर लगभग १,४०० मात्र छन्। निजी डाक्टरहरू झण्डै १९ हजार छन्। झण्डै २० वर्षदेखि सरकारी डाक्टरको दरबन्दी खुलेको छैन। तत्काल ७ हजार सरकारी डाक्टरको आवश्यकता भएको विज्ञहरू बताउँछन्। वार्षिक रु १७ अर्ब स्वास्थ्य क्षेत्रमा खर्च गर्ने हो भने तुरुन्तै ७ हजार सरकारी डाक्टर भर्ना गर्न सकिन्छ। यसले कति विपन्न नेपालीको कल्याण गर्थ्यो, त्यो गनेर साध्यै हुँदैन।

यस्ता अनगिन्ती विषयहरू छन्। यी विषयमा पार्टीभित्र र पार्टी बाहिर तपाईंले बोल्दा त्यसको धेरै प्रभाव हुन्छ, किनभने तपाईं ठूलो पार्टीको महामन्त्री हुनुहुन्छ। म चुनाव हारेको मान्छे हुँ, मैले बोल्दा खासै असर पर्दैन। तर अधिकांश नेताले यस्ता विषय बोल्नै सक्दैनन्, किनभने उनीहरूका लागि देशभन्दा माथि व्यक्ति, पार्टी र विचार छ। राजनीतिक स्वार्थ छ। पदीय आकांक्षा छ।

फेरि भनौँ– प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो – त्यो आफैँमा उपलब्धि होइन। राजनीति सही ट्र्याकमा ल्याउन सक्नु र देशको दूरगामी हितसहितको रूपान्तरण गर्न सक्नुचाहिँ उपलब्धि हो।

तपाईं चारपटक सांसद, एकपटक मन्त्री र पार्टीको महामन्त्री भएको मान्छे, तपाईंले विचारभन्दा माथि देशलाई राखिदिनुभयो र कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने यो देश र कांग्रेस पार्टीका लागि त्योभन्दा ठूलो देन अर्को हुने छैन। तपाईं ‘राजनीतिकर्मी’बाट ‘राजनेता’ बन्नु हुनेछ। राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने आफैँ निर्क्योल गर्नुहोला।

मेरा टिप्पणी र सुझावलाई तपाईं ‘चुनाव हार्ने नेताको ठूला कुरा’ भनेर पनि लिन सक्नुहुन्छ। अथवा, ‘चुनाव हारे पनि यसका कुरामा दम छ’ भनेर पनि सोच्न सक्नुहुन्छ। बाँकी तपाईंको निर्णय।
स–स्नेह
रवीन्द्र मिश्र (झिनो मतले दुईपटक चुनाव हारेको तर हरेस नखाएको व्यक्ति)

पुनश्चः कांग्रेसका नेता तथा कार्यकर्ता वैचारिक स्वतन्त्रतामा विश्वास गर्छन्। त्यसैले भद्र रूपमा फरक धारणा राखेकै कारण तथानाम गाली गर्नुहुने छैन भन्ने विश्वास लिएको छु। यसमा भद्रतापूर्वक आउने फरक धारणालाई सदाझैँ सम्मान गर्ने नै छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad