ad ad

राजनीति


एमालेलाई विश्वप्रकाशको प्रश्न : संसद् अवरोध भइरहँदा सत्तापक्षले बोल्न रत्नपार्क जानु पर्ने हो?

एमालेलाई विश्वप्रकाशको प्रश्न : संसद् अवरोध भइरहँदा सत्तापक्षले बोल्न रत्नपार्क जानु पर्ने हो?

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १६:५०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेर जनताका आवाज बन्द गरेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले एमालेले अवरोध गरेका यी १३ दिनमा जनताका कयौँ कुरा उठाउन नपाएको बताए।

‘संसद् अवरुद्ध भएको यो १० दिनमा जनताका धेरै कुरा संसद्‍मा सुनाउनु थियो। तामाङ समुदायले प्रदर्शन गर्दै गर्दा नहुनु पर्ने हस्तक्षेप किन भयो? सोध्न पाइएन। गौतम बुद्धको जन्मथलोमा विवादास्पद व्यक्तिलाई किन नियुक्त गरियो? जान् पाइएन’, उनले भने, ‘सरकारबारे जनताका कुनै प्रश्न राख्न पाइएन।’

उनले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणमा सरकारले गरेको कमजोरी सरकारले नै सच्याएको बताए।

‘सरकारको एउटा हातले कमजोरी गर्दै गर्दा अर्को हातले समात्यो तस्करीको सुन। यो पटक त सरकारले सुन बरामद गरेको छ। त्यसबेला तोलासम्म नभेटिई ३३ केजी सुन गायब भएको छ। खै त त्यसको हिसाबकिताब?’, उनले भने, ‘सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउन भनिँदैछ। हामी आफैंले बनाएका संस्थाप्रति किन अविश्वास हुँदैछ? कानुन र संविधानले बलियो बनाएका यी संस्थाप्रति हाम्रो विश्वास किन छैन? विश्वासको संकट उत्पन्न हुने गरी हामीले किन प्रश्न उठ्ने बनायौँ?’

हरेक फाइल पल्टाएर खोल्नै पर्ने हो भने कयौँ विषय आउने उनले बताए। यस्तोमा सबैको आवाज समेट्नका लागि संसद् चाहिने पनि उनले बताए। 

‘प्रतिपक्षले सदन अवरुद्ध गरिरहेको छ। संसद्‍मा जनताका आवाज राख्न पाइँदैन। त्यसो भए हामी सत्तापक्षले बोल्ने थलो चाहिँ रत्नपार्क हो?’, उनले सोधे, ‘१३ दिनपछि सदन खुल्यो। आज सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो? हरेक समस्याको हल सदन अवरुद्ध गरेर हुँदैन। हामी हरेक प्रश्नको निदान छलफलबाट गरौँ।’

शर्माले ३० वर्ष २ महिना २३ दिनअघि गम्भीर दुर्घटनामा परेर मदन भण्डारीको हत्या भएको एमालेलाई स्मरण गराए। तर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि मदन भण्डारी प्रकरणबारे खोजबिन नगरेको शर्माले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .