ad ad

समाज


अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या

नेपालखबर
साउन २३, २०८० मंगलबार १६:५५, काठमाडौँ

पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ। देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरूको चाप बढिरहेको छ। अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो।

नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको बताउँछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र।

‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ’ डा. मिश्रले भने।
 

देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको बताउँछन् नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, विनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन्।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन्। सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ।

देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले त विद्यालय बन्दको निर्णय समेत गरिसकेका छन्। यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ।

नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ।

‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनु पर्दछ। चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन। यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्रा.डा लामिछानेले भने।

समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउँछन् डा.लामिछाने। यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उनको भनाई छ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उनको सुझाव छ।

कारागारका कैदीबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहीमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीब्र रुपमा फैलिएकोे छ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदीबन्दी रहेको घोराही कारागारमा गरिएको निशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको बताउँछन् राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक, नेत्र अधिकृत सालीक राम गौतम।

जिल्ला कारागार घोराहीका स्वास्थ्थकर्मी योगेन्द्र रिजालअनुसार करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदीबन्दीको आँखा सामान्य रातो भएको देखिएको थियो। त्यो आँखाको सङ्क्रमण रहेछ। त्यो विस्तारै धेरैमा फैलिसकेको छ।

सो आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र अधिकृत सालिकराम गौतम, टेकबहादुर चौधरी, पूर्णबहादुर वली, किरण पौडेल, छेदुराम चौधरी र शसिकला चौधरीले आँखा जाँच गरेका थिए। सो अवसरमा नेपाल नेत्रज्योति संघ, दाङका कोषाध्यक्ष श्माम प्रकाश आचार्यको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .